सुनको मूल्यमा नयाँ कीर्तिमान

मदन भण्डारी स्मृति ब्याडमिन्टन : राजेन्द्र र लीलबहादुरको जोडी च्याम्पियन

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ ।

एमाले नेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता लीलबहादुरको जोडी बुधबार च्याम्पियन भएको हो । ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइज लेजर पार्कमा सम्पन्न फाइनलमा राई र थापाको जोडीले एमालेका नेता यज्ञराज सुनुवार र नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनको जोडीलाई २१-१७ र २१-१९ ले हराउँदै उपाधि उचाले ।

प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा एमालेका नेताद्वय भानुभक्त ढकाल र नवराज सिलवालको जोडी संयुक्त रूपमा तेस्रो भए । बुधबारै भएको सेमिफाइनलमा थापा दाजु भाइको जोडी राई र थापाको जोडीसँग २१-१६ र २१-१७ ले पराजित भएको थियो । अर्को सेमिफाइनलमा भने यज्ञराज र दिलमानको जोडीले नवराज र भानुभक्तको जोडीलाई २१-६ र २१-७ ले हरायो ।

प्रतियोगिताको विजेतालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार वितरण गरे । महासंघले संविधानसभा सदस्य, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो । प्रतियोगितामा ६२ जना राजनीतिज्ञ सहभागी रहेको महासंघका सचिव तथा प्रवक्ता तीर्थबहादुर खड्काले जानकारी दिए ।

नेपाल खेलकुद महासंघले राजनीतिककर्मीबीच विभिन्न समयमा हुने कटाक्ष र वैमनस्यलाई खेलकुदको माध्ययमबाट कम गर्ने उद्देश्यअनुरूप उनीहरूबीच भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : १२ बजे