बाढीको स्थितिमा सुधार

नेपाली सामाजिक मूल्यमान्यता र संस्कृतिमाथि तीव्र प्रहार भइरहेको छ : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिक अस्थिरता, बिग्रँदो अर्थतन्त्र र  सामाजिक, सांस्कृतिक अधोपतन र अधोगतिलाई रोक्ने नीति, कार्यक्रम र योजना वर्तमान गठबन्धन सरकारसँग नभएको बताउनुभएको छ । 

प्रवासी नेपाली सङ्घ, भारतको केन्द्रीय समिति बैठकलाई पार्टी कार्यालय, च्यासल, ललितपुरबाट भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली सामाजिक मूल्यमान्यता र संस्कृतिमाथि तीव्र प्रहार भइरहेको बताउनुभयो । 

राजनीति र अर्थतन्त्र बिग्रँदा केही समयपछि सुधार्न सकिने तर सामाजिक मूल्यमान्यता र संस्कृति बिग्रँदा सयौँ वर्षमा पनि सुधार्न नसकिने बताउँदै उहाँले अहिले सामाजिक तथा सांस्कृतिक अधोपतनको लहर डरलाग्दो देखा पर्दै छ भन्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो– ''सामाजिक मूल्यमान्यता र सांस्कृतिक अधोपतनले सबभन्दा बढी राष्ट्रियता कमजोर हुन्छ । त्यस कारण नेपाली मन, नेपालीपन कायम राखेर अगाडि बढ्नुपर्छ ।''  देश अर्काले बनाइदिँदैन हामी आफैले बनाउनुपर्छ भन्दै अध्यक्ष ओलीले नेकपा (एमाले)सरकारमा रहेको समयमा गरेका ऐतिहासिक र असाधारण कामका कारण त्रसित भई विरोधीहरू एमालेका विरुद्धमा संयुक्त ढङ्गले आइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– ''हाम्रा विरुद्ध राज्यको नेतृत्व तहबाटै राज्य संयन्त्रको दुरुपयोग गरेर आइरहेका छन् । हामीले गरेका काम ओझेलमा पार्न भ्रम फैलाउने काम भइरहेको छ । तर हामी प्रतिवाद गर्न नसक्ने अवस्थामा छैनौँ। प्रतिकूलतालाई पराजित गर्दै र सफलता हासिल गर्दै अगाडि बढ्दै आएका छौँ। '' 

नेकपा(एमाले)ले देश समृद्ध र नेपालीमा सुख ल्याउन चाहेको र त्यस अनुसारका नीति, कार्यक्रम र योजनाका साथ अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले एमालेको पवित्र उद्देश्य र महान् काम विरुद्ध प्रवासबाट पनि भ्रम फैलाउने काम भइरहेकाले प्रवासमा रहेका देश प्रेमी नेपालीले ती भ्रमहरू चिर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले अपवित्र गठबन्धनमा रहेका स्वार्थीहरूका पार्टी र नेकपा (एमाले)बीचको अन्तर नीति र विचारमा मात्र होइन, पार्टीका नेता कार्यकर्ताको व्यवहार, आचरण, बोलीचालीमा पनि देखिनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का नेताकार्यकर्तामा इमानदारी र विनम्रता हुनुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो– ''समाज र जनताले मन नपराउने व्यवहार नगर्नुस् । '' 

नेकपा (एमाले)का विरुद्धमा चौतर्फी घेराबन्दी भए पनि जनताको मतमा पहिलो पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले देश बनाउने नीति, विचार र योजना एमालेसँग मात्रै भएका कारण जनताको रोजाइको पार्टी भएको स्पष्ट गर्नुभयो । उहाँले हाम्रो पार्टीका नीति नै राज्यका नीति हुने गरेको र अरूले फरक नीति बनाएर जान नसकेको बताउँदै पार्टीका पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । 

नेकपा(एमाले) राष्ट्र र जनहित विपरीत काम गर्दैन भन्ने कुरामा ढुक्क हुन आश्वस्त पार्दै उहाँले पार्टीविरुद्धका भ्रमपूर्ण प्रचार चिर्न पनि आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले पार्टीले चलाएको मिसन ग्रासरुटको पार्टीमा सकारात्मक प्रभाव देखिएको र अहिले जिम्मेवारी हेरफेरले पनि पार्टीलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको उल्लेख गर्नुहुँदै पार्टीको सम्पूर्ण ध्यान २०८४ को निर्वाचन केन्द्रित रहेको र सो निर्वाचनमा ५१ प्रतिशत जित हासिल गर्ने लक्ष्य रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो– ''यो अभियान सरकारमा पुग्नका लागि मात्र नभई अविकसित देशलाई विकसित बनाउने हो ।'' 

प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायण होमागाईको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरेले अध्यक्ष ओलीको मार्ग निर्देशनबाट प्रवासीलाई उत्साहित बनाएको बताउनुभयो । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ४८ बजे