बाढीको स्थितिमा सुधार

बन्द भयो विश्वकै पुरानो जीवित दैनिक अखबार

विश्वकै पुरानो जीवित (निरन्तर प्रकाशन भएको) दैनिक अखबार विनर जाइटुङले आफ्नो छापा संस्करण बन्द गरेको छ। अस्ट्रियाको भियनाबाट प्रकाशन हुँदै आएको यो दैनिक अखबार स्थापनाको ३२० वर्षपछि बन्द भएको हो।

८ अगस्ट १७०३ मा विनरिस्चेस डायरायम (भिएनाको डायरी) नाममा पहिलो पटक प्रकाशन भएको यस अखबारको पहिलो अङ्कमा ‘प्रवचन र काव्यिक चमक विना समाचार पस्किने’ उल्लेख थियो।

अखबारको अन्तिम अङ्कको पहिलो पृष्ठमा भने ठूलो अक्षरमा लेखिएको छ- “एक लाख १६ हजार ८४० दिन, तीन हजार ८३९ महीना, ३२० वर्ष, १२ राष्ट्रपति, १० सम्राट्, दुई गणतन्त्र, एक पत्रिका।” आफ्नो गौरवपूर्ण ३२० वर्षलाई अखबारले यसरी सम्झेको हो।

अन्तिम अङ्कमा अखबारले विश्वप्रसिद्ध अस्ट्रियन बडिबिल्डर तथा हलिउड कलाकार आर्नोल्ड श्वार्जनेगरको अन्तर्वार्ता पनि छापेको छ। त्यहाँ श्वार्जनेगरको टर्मिनेटर पात्रले ‘म फेरि आउनेछु’ भने झैं अखबारले फेरि आउने वाचा गर्न नसकेको भन्दै दुःख व्यक्त समेत गरिएको छ।

अस्ट्रियन सरकारको स्वामित्वमा रहेको यो अखबारले सम्पादकीय स्वतन्त्रता भने कायम राखेको थियो।

किन बन्द भयो? 
गत अप्रिलमा अस्ट्रियाको गठबन्धन सरकारले एउटा कानून पारित गर्‍यो। जसमा कम्पनीहरूलाई छापा संस्करणमा सार्वजनिक सूचना छाप्न पैसा तिर्न आवश्यक नहुने व्यवस्था गरियो।

यो व्यवस्थाका कारण विनर जाइटुङलाई १८ मिलियन यूरो घाटा भएको जर्मन अखबार डेर स्पिगेलले जनाएको छ। घाटा भएकै कारण अखबारले ६३ जनालाई कामबाट निकाल्न पनि बाध्य भयो भने सम्पादकीय टोली पनि ५५ बाट २० जनामा झर्‍यो। अखबार आधिकारिक राजपत्रको भूमिकाबाट पनि वञ्चित भयो।

शुक्रबार अन्तिम छापा संस्करणमा विनरले अखबार बन्द हुनुमा सरकारको नयाँ कानून दोषी रहेको भन्दै सम्पादकीय लेखेको छ। “स्तरीय पत्रकारिताका लागि यो आँधीबेहरीको समय हो। अरू विभिन्न माध्यममा गम्भीर सामग्रीले झूटा समाचार, बिरालोका भिडिओ र षड्यन्त्रका सिद्धान्तसँग ध्यानाकर्षणका लागि प्रतिस्पर्धा गर्छ,” सम्पादकीयमा भनिएको छ।

अनलाइन माध्यममा भने विनर जाइटुङ उपलब्ध हुनेछ। साथै, मासिक रूपमा छापा संस्करण प्रकाशन गर्ने योजना पनि छ। यद्यपि, यो योजना अहिले विकासकै चरणमा छ।

अब विश्वको पुरानो जीवित दैनिक अखबारको कीर्तिमान भने जर्मनीको हिल्डशेइमर अल्जेमेइन जाइटुङको हुनेछ। यो पहिलो पटक सन् १७०५ मा प्रकाशित भएको थियो।

– विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीको आधारमा तयार गरिएको

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : ०१ बजे