सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

डेंगुको कारण एक जनाको मृत्यु, बढ्न थाले संक्रमित

काठमाडौं ।  वर्षायामसँगै डे‌गुको संक्रमणा बढ्न थालेको छ भने एक संक्रमितको मृत्युसमेत भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो।

महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल धरानमा डे‌गु संक्रमितको संख्या बढिरहेको छ।

उनका अनुसार पछिल्लो समय धरानमा ७५ जनामा डेंगु पुष्टि भएको छ। ‘अहिले धरानमा अलि बढी डेंगुको केश देखिन थालेको छ, एक जना संक्रमितको मृत्यु समेत भएको पुष्टि भएको छ, संक्रमण बढ्दै जाँदा स्थानीय तहसँग समन्वय गरेर संक्रमण नियन्त्रण कार्यसमेत भइरहेको छ’ डा दाहालले भने।

धरान मात्रै होइन बिस्तारै देशका अन्य जिल्लाहरूबाट डेंगुका केशहरू रिपोटिङको संख्या बढेको छ । यो वर्ष मात्रै हालसम्म देशभर एक हजार २४ वटा डेंगुको केश रिपोटिङ भइसकेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. दाहालको भनाइ छ।

यता काठमाडौंमा पनि बिस्तारै डेंगुका संक्रमितको संख्या बढ्दै गएको छ। काठमाडौमा हाल ४७ जनामा संक्रमण देखिएको छ। गत बर्ष महामारीकै रूप लिने गरी डेंगु देखिएको ललितपुरमा भने यो वर्ष हालसम्म एकदमै थोरै संख्यामा संक्रमित भेटिएका छन्।

गत वर्ष असारदेखि मंसिरसम्म काठमाडौं, ललितपुरमा डेंगुले महामारीकै रूप लिएको थियो। अघिल्यो बर्षको तुलनामा यस वर्ष बर्षातको मौसम सुरु हुनु अगाडि नै डेंगुका केश रिपोटिङ भएका र हाल देशभर नै वर्षा हुन सुरु गरेपछि संक्रमितको संख्या बढ्न थालेको हुँदा सतर्कता अपनाउनु पर्ने बेला आएको डा दाहालले बताए।

‘सामान्यतः डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने गर्छ, बर्षातको मौसम पनि सुरु भएको छ भने संक्रमितको संख्या पनि विस्तारै उकालो लाग्दै छ । यस्तो अवस्थामा आफ्नो घर वरपर सफा राख्नु पर्छ’डा दाहालले भने।

अघिल्लो बर्ष साउनदेखि गत कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। जसले गर्दा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

पछिल्ला वर्षहरूमा वर्षातको मौसममा डेंगु संक्रमण जनस्वास्थ्यको समस्याको रुपमा देखिँदै आएको छ।

यो बर्ष गत वर्षजस्तो संक्रमण नफैलियोस् भन्दै महाशाखाले यस्तै गत वर्ष ५ सयभन्दा धेरै डेंगु विरामी रिपोर्टिङ भएका काठमाडौं,ललिपुर, भक्तपुर, चितवन‚ दाङ‚ धादिङ‚ रूपन्देही लगायतका जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूसँग छलफल गरेको छ।

यस्तै गाडी मर्मत गर्ने वर्कशपका सञ्चालकहरूसँग समेत छलफल गर्ने गरेको छ। पानी परेपछि वर्कशपमा रहेका धेरै टायरमा पानी जम्ने र त्यहीँ लामखुट्टेले लार्भा बनाएपछि लामखुट्टे फैलने हुँदा डेंगुको जोखिम बढ्छ। त्यसलाई कम गर्न पनि वर्कशप सञ्चालकहरूसँग समेत छलफल गर्न लागिएको महाशाखाले जनाएको छ।

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा पहिलोपटक डेंगु पुष्टि भएको थियो।

डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने,साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ०३ बजे