दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

विराटनगरमा पुष्पलाल र मनमोहनकाे जन्मजयन्ती

काठमाडौँ । विराटनगर वडा नं. १ स्थित ऐतिहासिक विष्णुमाया पुस्तकालयले असार १५ गते आफ्नै सभाकक्षमा नेकपा संस्थापक महासचिव पुष्पलाल तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको संयुक्त जन्मजयन्ती भव्य रूपमा सम्पन्न गर्‍यो । 

मार्क्सवादी चिन्तक तथा आयोजक प्रमुख केशव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एमाले कोसी प्रदेशका सांस्कृतिक विभाग प्रमुख तथा प्रा.डा. बद्री विशाल पोखरेल रहनुभएको थियो । 

कार्यक्रमको औचित्य, महत्त्व र उपादेयता बताउँदै आयोजकलाई धन्यवाद दिँदै डा.पोखरेलले प्रचारात्मक काम मात्र नगरी परिमाणात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । 

कम्युनिष्ट आन्दोलनका धरोहरलाई कर्मकाण्डी रूपमा स्मरण गर्नेभन्दा उहाँहरूको व्यावहारिक तथा सच्चा अनुयायी  मार्क्सवादी हुनुपर्ने उल्लेख गर्नुहुँदै डा.पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलनका उपलब्धि र प्राप्ति पनि रहेको हुँदा नकारात्मक कुरा मात्र प्रवाह गर्न नहुने बताउनुभयो । 

पुँजीवादले ४०० वर्षमा गर्न नसकेको प्रगति चीनजस्ता मुलुकले सय वर्षमै सम्पन्न गरेको उदाहरण दिँदै सबै कम्युनिष्ट नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकले आलोचनात्मक चेतको उच्चतम विकास र उपयोग गरेर विकृतिलाई  निर्ममताका साथ छाँस्नु पर्ने बताउनुभयो  । 

कार्यक्रममा मार्क्सवादी चिन्तक तथा लेखक नारायण प्रसाद आचार्य, सङ्घीय समाजवादीका नेता महेश रेग्मी, कोसी प्रदेशका पूर्व सभासद् द्वय सावित्री जोशी, यशोदा अधिकारी, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ विराटनगरका लेखकहरू उमानाथ घिमिरे, भीम कोइराला, प्रयाग न्यौपाने, तथा  विनोद सुवेदी, कृष्ण प्रसाद गौतम, बल्लभ कार्कीले आ—आफ्ना रचना र विचार व्यक्त गर्नुभएको थियो । 

पुष्पलालको जन्म वि.सं.१९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। 

मनमोहन अधिकारी विक्रम संवत् १९७८ असार १५ गते काठमाडौँको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीका ज्येष्ठ पुत्रका रूपमा जन्मिनुभएको थियो ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ०३ बजे