बाढीको स्थितिमा सुधार

सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्नुभएको छ ।

 ‘संसद् दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गर्नुभएको छ । 

उहाँले संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरू, संविधानसभा सदस्यहरू, पूर्व सांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आम नेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । 

संसद् दिवसका अवसरमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि विगतमा पटक÷पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरूप्रति श्रद्धा अर्पण गर्दै उहाँले उहाँहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्थाको रूपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । 

नेपालमा विसं २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनी संसद् दिवस बनाइँदै आएको छ । 

दिवसको दिनमा जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रूपमा आत्मसात् गर्नु हामी सबैको प्राथमिक दायित्व हुनुपर्ने सभामुख घिमिरेको जोड रहेको छ । 

उहाँले भन्नुभएको छ, “नेपालको संविधानले अङ्गीकार गरेको जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै नेपाली जनताले आवधिक निर्वाचनबाट जन निर्वाचित सर्वोच्च संस्था संसद्मा प्रतिनिधि चयन गर्दै आएका छन् ।” 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ६ : ५४ बजे