दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

घरेलु तथा अवैतनिक कामदारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ – घरेलु तथा अवैतनिक महिला कामदारको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको छ । अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले सो क्षेत्रमा आवद्ध महिला कामदारले भौग्दै आएका समस्या, उनीहरुले पाउने पारिश्रमिकबारे गरिएको अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको हो । 

अनुसन्धान प्रतिवेदनउपर विज्ञको सुझावहरूलाई समेत समावेश गरेर प्रतिवेदनलाई छिटै अन्तिम रुप दिइने युवालयका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिनुभयो । उक्त अध्ययनका लागि युवालयले चार प्रदेशका १३ जिल्लालाई आधार बनाएको जनाएको छ । जसमा शहरी क्षेत्र रहेको काठमाडौँदेखि मधेशका जिल्लाहरु, सुदूरपश्चिमका तराई तथा पहाडी इलाकाहरु तथा लुम्बिनी तथा कर्णाली प्रदेशका केही जिल्लाहरु समेत समेटिएका छन् ।

सो अध्ययनका लागि २५ देखि ४० वर्ष उमेर समूहका कूल दुई सय आठ जना महिलासँग प्रत्यक्ष संवाद गरिएको थियो । जसमध्ये एक सय छ जना वैतनिक घरेलु कामदार रहेका थिए भने बाँकी एक सय दुई जना अवैतनिक कामदार रहेको कार्यक्रम संयोजक विष्णुबहादुर खत्रीले जानकारी दिनुभयो ।

वैतनिक कामदार तर्फ २२ प्रतिशतले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसाको अनुभव गर्नुपरेको बताएका छन् । त्यस्तै, बिहान र बेलुकाको काममा दौडधुप बढी हुने र एकभन्दा धेरै घरमा काम गरेका महिलाले बीचको समयमा पर्याप्त समय आराम पाउन नसकेको गुनासो गरेका थिए । यस्ता कामदारमध्ये अधिकांशले बिरामी हुँदा बिदा पाउने भए पनि बिदा लिँदा विभिन्न अपजसहरुको सामना गर्नुपर्ने अवस्था रहेको बताएका थिए । 

त्यस्तै, यसरी काम गर्ने अधिकांशको तलव मासिक तीनदेखि चार हजार रुपैयाँ मात्रै रहेको देखिएको छ । पारिश्रमिक कम भएकै कारण ३० प्रतिशतले जीविकोपार्जनका लागि एकभन्दा बढी घरमा काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । १४ प्रतिशतले त दुईभन्दा बढी घरमा काम गर्ने उल्लेख गरेका थिए । 
 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ४० बजे