बाढीको स्थितिमा सुधार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

रामपुर (पाल्पा) । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । 

कोरिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । 

आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडक खण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । 

करिडोरको रामपुर पिपल डाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ । पहिरो हटाउन करिब चारदेखि पाँच घण्टाको समय लाग्ने यात्रामा निस्कनुभएका सञ्चारकर्मी प्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–५ ढुङ्गा खानीमा पहिरो खसेकाले तानसेन रिडी सडक खण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गअन्तर्गत आर्य भन्ज्याङ–राम्दी सडक खण्ड पनि अवरुद्ध बनेको छ । 

माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् । रासस

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ११ : २५ बजे