दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

सूर्य विनायकमा भोलिदेखि घरेलु, कृषि तथा पर्यटन मेला हुने

भक्तपुर। भक्तपुरको सूर्य विनायकमा भोलि शुक्रवारदेखि सूर्य विनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ।

मेला सूर्य विनायक नगरपालिका वडा-८ आदर्शस्थित सूर्य विनायक हरित कृषि थोक बजारमा हुने छ। 

आयोजक सूर्य विनायक नगरपालिकाले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो। सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले दिगो विकास व्यवस्थित सहर: स्वच्छ समृद्ध सूर्य विनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि आर्थिक विकास एक महत्त्वपूर्ण सूचक भएको कुरा महसुस गरी मेला गर्न लागेको बताउनु भयो ।

सूर्य विनायक नगरपालिकाको आयोजना घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा राष्ट्रिय धान दिवसको अवसरमा असार १५ देखि  १७ गतेसम्म ३ दिने सूर्य विनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना हुनेछ। 

सूर्य विनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङमा उत्पादक र उपभोक्तासम्म पहुँच पुर्‍याउने लक्ष्यका साथ मेला आयोजना गरिएको जनाइयो। 

मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन र सीप उजागर गरिने छ। मेलामा सूर्य विनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरूको उत्पादनहरू स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरू जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाँडाकुँडा उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादनहरू, पर्यटन उद्योगका उत्पादनहरू मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामरी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक गायिकाको साङ्गीतिक प्रस्तुतिसहित मेलामा ९० वटा स्टलहरू रहने जनाइयो ।

मेलामा नगर उपप्रमुख सरिता भट्टराईले कृषि र पर्यटन क्षेत्रमार्फत सूर्य विनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तर्क्रिया आयोजना गरिने बताउनु भयो ।

नगरपालिकाका प्रवक्ता एवं सूर्य विनायक नगरपालिका वडा-७ गुण्डुका वडा अध्यक्ष रवीन्द्र सापकोटाले मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायिहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्य विनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच अभिवृद्धि भई पर्यटन उद्योगलाई जोड्ने अपेक्षा गरिएको छ।’

तीन दिनसम्म सञ्चालन  हुने मेलामा दश हजार भन्दा बढी सहभागीहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा स्टल र अवलोकन निःशुल्क गरिएको छ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ४ : ५९ बजे