कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुँदै

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुने भएको छ ।

कोसी प्रदेशसभाको आज अपराह्न १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।  

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सङ्कटमा पर्नुभएका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो। 

कोसी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोसी प्रदेशसभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । 

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोसी सरकार यथावत् रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोसीमा पनि विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री कार्कीले गर्नुभएको छ । 

हाल कोसी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहनुभएको छ । 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ७ : २३ बजे