आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

छेन्दु  । पाँच दिने चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुग्नुभएको छ । 

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उहाँलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए । 

 उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ । 

उहाँले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनुहुनेछ । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नुहुनेछ । 

सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ मङ्गलबार चीन प्रस्थान गर्नुभएको थियो । 
 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : २३ बजे