प्रिय पाठक मित्रहरू म तपाईँलाई यो प्रश्न गर्दैछु के बुद्ध हामी जस्तै मान्छे होइनन् र ? तर हामी बुद्ध बन्ने बाटामा लाग्दै लागेनौँ र लिलिपुट बुद्ध पनि हुन सकेनौँ । जननेता मदन भण्डारी हामी जस्तै मान्छे होइन ? हो नि तर मदन विद्यार्थी कालमा नै आफू १० विशेषतायुक्त हुन चाहनुहुन्थ्यो पढ्नेलाई थाहा होला तर हामी कतिपय नेताहरू जब पदको चाहना गर्न थाल्छौँ अनि विशेषताको खोजी गर्छौँ । निश्चित पदलाई मात्र तारो बनाएर नेता हुने ल्यागत प्राप्त हुन्छ र ? तपाईँले कहिल्यै गतिलो लेख लेख्नुभएको छ भने थाहा हुन्छ । लेख्न कति गाह्रो हुन्छ । अनि मदन भण्डारीले जनताको बहुदलीय जनवाद रातारात तयार पारेको हो र ? विश्व कम्युनिष्ट आन्दोलनका तमाम उतार चढावको गहिरो अध्ययन गरेर नेपाली समाज र नेपाली कम्युनिष्ट आन्दोलनलाई सूक्ष्म अध्ययनको परिणाम हो जबज ।
अरू कसैले गरिदिएको र गरिसकेको काम तपाईँलाई सजिलै लाग्दो हो तर आफू नमरी स्वर्ग देखिन्न । सबको नाडी छामेको हुँदा यस लेखकलाई सबको गिदीगुदी थाहा छ ।
कुनै पनि छोरी आफैँ आमा नबनी आमालाई शत प्रतिशत चिन्दिन । जबज र मदन भण्डारीलाई राम्ररी पहिचान गर्न त्यति सजिलो छैन । चिनेको भए त्यस अनुसार तपाईँ समर्पित भएर लाग्नुहुन्थ्यो होला नि होइन ? तर धेरै जसो तपाई हामीहरूको ध्यान कहाँ कहाँ छ अहिले बेलिबिस्तार न लगाऊँ तर तपाई हाम्रा तमाम गतिविधिले सबै कुरा खोल्छ । अरूभन्दा जाति मात्र भएर हुँदैन तुलनात्मक रूपमा असल मात्र भएर हुँदैन । सर्वश्रेष्ठ सर्व सर्वप्रिय जनप्रिय हुनुपर्छ । यस खालको सोच हामीमा कति छ ? मदन भण्डारी जस्तै नाक, नश्ल, जात, थर र गोत्र विरोधी कति हुनुहुन्छ वा छौँ । सत्य, तथ्य र सही विचार व्यक्त गर्दा कसैको भइँदो रहेनछ । न आफ्नाको भइन्छ न अरूको नजिक भइन्छ । यो कुरा यो लेखकले आफैँ भागिरहेको तिक्त र विरक्त अनुभूति छ ।
यही लेख दर्तावाल नेता भएको भए कुरा बिक्थ्यो तर यो अदना चरी पर्यो सामान्य मास्टर । जताबाट पनि कटाक्ष मात्रै हुन्छन् । हुँदा हुँदा भारेभुरे पनि आइलाग्छन् । किनकि सत्य कुरा र सत्य वक्ताको पक्षपोषण गर्ने अभिभावक नै छैनन् । पार्टीमा भोट घट्छ कि भनेर दाँत बाँधेर बसेको देख्छु । अलिकति र इष्र्या पनि हुँदो हो । यही मान्छेले जान्नुपर्ने लेख्नुपर्ने र यही मान्छे कहीँ नभएको इमानदार हुनुपर्ने भन्ने रिसले जल्ने अवस्था पनि हुँदो हो र हुन्छ । यही इटहरीमा एमाले जन छन् । कसैको नाम नभनी एउटा कार्यक्रममा ह्रस्व, दीर्घ र प्लुत्त बुद्धिजीवी भनेको थिएँ । अमुक एक जना अहिलेसम्म मदेखि रिसले चुर रहेछन् ।
अनि मभन्दा अग्लो हुन बाँसको खुट्टा लगाएर नगर परिक्रमा गरेछन् । पैसा भए ऐसा हुँदो रहेछ । नन्दीभृङ्गीको के खाँचो ती पनि भतेर लगाएपछि धोती कछाड लगाएर भान्सामा । अरूको के कुरा गर्नु हामी आफैँलाई राम्ररी चिन्दैनौँ । चिनी चिनी पनि चिन्दैनौँ ।
मदन भण्डारीलाई पहिचान गर्ने एक नेता जीवराज आश्रित हुनुहुँदो रहेछ । उहाँकै जोड बलमा मदन स्थायी समितिमा पर्न सक्नुभएको मलाई थाहा छ । उही मदनलाई स्थायी समितिमा बिना बित्थामा लादो काट्दा आश्रित बाहेक प्रतिवाद गर्ने कोही थियो ? भित्ते घडीका लङ्गुरहरू र कमजोर आत्माहरू सधैँ कामिरहेकै हुन्छन् । आफ्नो छायाबाट आफैँ तर्सिन्छन् ।
नेकपा एमाले सैद्धान्तिक वैचारिक दृष्टिले धनी पार्टी बनाउने मदन भण्डारी हो । कति धनी हो भन्ने कुरा नेपाल मात्र होइन दुनियाँसँग तुलना गर्दा पनि हुन्छ ।
जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने विचार मैले कहीँ देखे सुनेको थिएन । यही विचारलाई अधिकांश नेताले अनुसरण गरिदिए माथिको राम्रो बानी तलतल आउँथ्यो तर पार्टीकै स्वाभिमानी र विवेकी तथा आलोचनात्मक चेतका विद्वान्को नै बिनबित्थामा मानमर्दन गरेको देख्नुपरेको छ ।
वरिष्ठ वकिल विश्वकान्त मैनालीले बुद्धिजीवी र पार्टी नेतासँग तेलपानी जस्तो सम्बन्ध रहेको उहिल्यै बताएका थिए । लेख नलेख्दा केही भन्दैनन् तर लेखेपछि कटाक्ष गर्ने नेता यही लेखकले भेटेको छ । काम गर्दा उल्टो आलोचना खेप्नुपर्छ नगर्दा कसैले केही भन्दैन ।
जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ भन्ने नै थाहा छैन कि त्यसको अर्थ बोधमै तिनमा भारी अलमल हुनुपर्छ । नत्र मित्रवत् आलोचना पनि किन पच्दैन, हल्का नठोसी आगो बल्दैन भन्ने रैथाने ज्ञानको नै अभाव देखिन्छ ।
आलोचना ओखती हो भन्ने कुरा जान्नेले यसरी आइलागेपछि पार्टीमा तिनबाक्सी मयल जम्मा हुँदैन र ? हिजैका दिनमा पनि माकुने लगायतका विचलनबारे कसैले न कसैले खवरदारी गरेको यति बिघ्न दुर्गति हुँदैनथ्यो कि ?
जबज अनुसार राम्रो काम पनि राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने पनि मैले सुनेको रहेनछ । जननेता मदन भण्डारीले मार्क्सवादका धेरै जसो मौलिक पक्षहरू सिर्जनात्मक रूपमा जबजमा प्रयोग गर्नुभयो । जतिसुकै असन्तुष्ट भए पनि पार्टी प्रतिको अत्यधिक लगाव जनताको बहुदलीय जनवादका कारण मात्र उत्पन्न भएको हो । सिद्धान्त र विचार सही हुँदा पार्टीलाई सही दिशामा उन्मुख गराउन सकिन्छ भन्ने दृढ विश्वास यही लेखकजस्ता धेरै पात्रहरूमा पाइन्छ ।
जबजमा अधिनायकत्व राज्यको आम चरित्र हो भनिएको छ, जुन तथ्य र सत्य सङ्गत छ । तर कम्युनिष्टका नामका जडसूत्रवादीहरु आफूलाई अधिनायकवादी वा निरङ्कुश भन्न रुचाउँथे । ९६ प्रतिशत जनतालाई राजनैतिक र आर्थिक अधिकार सहितको पूर्ण लोकतान्त्रिक अधिकार सुनिश्चित सैद्धान्तिक पार्टीले आफूलाई निरङ्कुश भन्न किमार्थ सुहाउँदैन । जबजमा यस्ता विषयहरू उल्लेख नगरिदिएको भए मोहन विक्रम सिंह, मोहन वैद्य किरण र नेत्र विक्रम चन्द विप्लव जस्ता कम्युनिष्टहरुले आफूलाई अझै अधिनायकवादी र निरङ्कुश नै भनिरहेका हुन्थे । आफ्नो सही पहिचान र परिचय पनि अर्थ्याउन नजान्नेहरू कम्युनिस्ट बनेका छन् ।
ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने पाठ घोकेका कम्युनिष्टहरु मार्क्सवादको पुन सृजित जबजलाई धारे हात लगाउँछन् तर जबजकै प्रकाशमा तिनले राजनीतिको रोटी सेकिरहेका छन् नत्र तिनीहरू सोभियत सङ्घ र पूर्वी युरोपबाट पलायन भएका कम्युनिष्ट झैँ बेपत्तासँग भागिसकेका हुन्थे । जननेता मदन भण्डारीकै कारण यिनको राजनीतिक खलाँती ठसठस कन्दै चलिरहेको छ ।
जबजमा जनता भन्ने शब्द सुविचारित रूपमा राखिएको छ । पार्टी अध्यक्ष के.पी.शर्मा ओली समेतको सल्लाहमा उक्त शब्द सम्मिलित गरिएको हो । मार्क्सवादी भाषामा जनता शब्दले शारीरिक र मानिसक श्रम गर्ने जनता मात्र बुझाउँछ । नेपालका सन्दर्भमा धनी किसान र राष्ट्रिय उद्यम व्यवसायी र उद्योगपति समेत जनतामा पर्छन् । देशलाई धनी, स्वावलम्बी, आत्मनिर्भर र सम्पन्न बनाउन लागि पर्ने जति सबै जनता हुन् । क्रान्तिकारी र कम्युनिष्टको ट्याग छातीमा टाँसेकै भरमा कोही पनि जनता हुन सक्तैनन् ।
यत्ति कुरा जीवनभर फाउण्डेशनको विभिन्न तह, पद र पार्टीमा रहेकाहरूले मातहतलाई जनकारी गराएको थाहा छैन र ती स्वयम् यसमा के कति जानकार छन् ? १२ वर्ष रामायण पढ्यो सीता कसकी जोई भनेझैँ अवस्था धेरै देखिँदै छ । जनवाद जनताको राजनैतिक आर्थिक अर्थ आशयको समष्टि हो । यो ट्याउँट्याउँ मात्र बोल्ने राजनीतिक अधिकार मात्रमा सीमित पुँजीवादी खोक्रो लोकतन्त्र होइन । सङ्गठनमा आबद्ध भएपछि यस्ता सामान्य तर महत्त्वपूर्ण जाने बुझे कति जाती हुन्थ्यो । सङ्गठनका नामको बथान ठुलो छ तर गुदी कुरा खासै केही पनि छैन ।
जबजको चुरो र मदनको सार बोध गर्ने कुरा विशिष्ट छ । बोक्रा र पलाँस बुझेर हुँदैन । चुरो बुझ्नुपर्छ । रुख हेर्दा सजिलै देखिन्छ तर जरा देख्न सक्नुपर्छ र जरा बन्नुपर्छ । अभिधा, लक्षणा र व्यञ्जना नबुझ्ने हामी कति छौँ । अध्यक्षले बोलेको सार तत्त्व बुझ्ने कति छौँ । उहाँले बोल्दा हामी हाँस्छौँ तर त्यस बोलीमा हास्य मात्र छैन गम्भीर कटाक्ष छ भन्ने हामी बुझ्दैनौँ र देख्दैनौँ । त्यसैले जबज र मदनलाई बोध गर्न बोक्रे आँखा, चेत र चिन्तनले बुझिन्न । पटक पटक पढ्यो भने मात्र दिल र दिमागमा घुस्छ । दिल दिमागमा पद, पैसा, प्रतिष्ठा मात्र हरदम फनफनी घुम्छ भने अलि अलि बुझेको जबज र मदन पाताल पुग्ने अवस्था हुन्छ र भएको छ ।
इटहरी निवासी लेखक एमाले कोसी प्रदेशका संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।
प्रकाशित मिति : १३ असार २०८०, बुधबार ८ : ४४ बजे
प्रतिक्रिया