बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । 

प्रदेशसभा भवन, हेटौँडामा आज बिहान ११ः०० बजे प्रदेशसभाको बैठक बस्न लागेको हो । 

प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काअनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मङ्गलवारदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण मङ्गलवारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अवरोध गरेका थिए ।  

आज पुनः सहमति कायम गरेर बैठक बस्न लागेको हो । बैठक अघि सहमति कायम गर्ने प्रयास हुनेछ ।   

आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो, जुन बजेटमाथि आज छलफल हुन लागेको हो । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ४२ बजे