सुनको मूल्यमा नयाँ कीर्तिमान

नेतासँग खिचेका फाेटाे देखाएर ठगी गर्ने जुठे राउत पक्राउ

काठमाडौँ । विभिन्न व्यक्तिहरूलाई क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा जुठे राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

रोजगारीको सिलसिलामा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी करोडौँ रकम ठगी गरेको अभियोग पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । 

सोही उजुरीको आधारमा विभागले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ०८ घरभई काठमाडौँ शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका राउत अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

पक्राउ परेका राउतलाई अदालतबाट म्यादथप गरी वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको रुपमा रहेका टोपबहादुर रायमाझीसँग राउतको बाक्लो हिमचिम भएको साथै उनको संरक्षणकै कारण ठग्दै हिड्ने गरेको पीडितहरूको अरोप छ । 

पीडितहरूलाई रायमाझीसँग विभिन्न समयमा विभिन्न ठाउँमा खिचेका फोटोहरू देखाएर राउतले आफ्नो राजनीतिक पहुँच भएको हुनाले विदेश पठाउनको लागि कुनै समस्या नहुने बिताउदै विश्वास दिलाउने गरेका थिए । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ३१ बजे