माथिल्लो मनाङमा हिमपात

ललितानिवास प्रकरण : मीनबहादुर गुरुङ र सुधीर शाहसहित ७ जना पक्राउ

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जना पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई उनको निवास नक्सालबाटै पक्राउ गरेको हो । गुरुङसँगै शाह र अन्य पाँच जनासहित ७ जनालाई आज (मंगलबार) एकै दिन पक्राउ गरेको हो । शाह तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।

गुरुङ नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट भाटभटेनीका सञ्चालक हुन् ।

सरकारी जग्गा हडप्नकै लागि गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जमिन सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।

यसैगरी सीआईबीले सुधीर शाहसहित भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख (सहसचिव) कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, भुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : १९ बजे