साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

विद्युतीय फोहोर व्यवस्थापनमा ध्यान नदिँदा जोखिममा मानव स्वास्थ्य 

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरणजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । 

आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्नुहुँदै मेयर कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा  ध्यान जान नसकेको बताउनुभयो ।

उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको बताउनुभयो । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतीपूर्ण रहेको कोइरालाको भनाई छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रूपमा व्यवस्थापन गरिँदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताउनुभयो  । 

उहाँका अनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले  मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाई क्यान्सरको जोखिममा पार्ने उहाँको भनाई छ ।  विद्युतीय फोहोर व्यवस्थापनका लागि आयातकर्ता, बिक्रेता , प्रयोगकर्ता देखि सरकारसमेत जिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आवश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव सङ्कलनसमेत थालेको अर्यालले बताउनुभयो  ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिम्सिनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोग पछिको व्यवस्थापन जटिल बन्दै गएको बताउनुभयो  । 

महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामाग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामाग्रीको व्यवस्थापनका लागि नेपालमा आवश्यक पूर्वाधार नहुँदा पुराना धातुहरू सरह कवाडीलाई बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो  ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आवश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको बताउनुभयो  । उहाँले पुराना विद्युतीय सामाग्री सङ्कलन गरेर पुनः प्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग सङ्गठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको धारणा राख्नुभयो  ।

कवाडी व्यवसायी महासङ्घ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री सङ्कलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताउनुभयो । नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रूपमा भारत निकासी गरिँदै आएको मियाँले जानकारी दिनुभयो  ।  

कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाईँ, मोबाइल वितरण सङ्घ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेती विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावह हुनुभन्दा पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राख्नुभएको थियो ।  

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ३४ बजे