नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ ।
अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ ।
स्थानीयवासी सीता केसीले दुई जना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको जानकारी दिनुभयो । उहाँले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गर्नुभयो ।
भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो ।”
अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एक सय हाराहारीमा अस्पताल आउने गर्छन् । सङ्घबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ । कुकुरले टोकेको लगायतका अवस्थामा सो खोप लगाइने गरिन्छ ।
प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ७ : ४१ बजे
प्रतिक्रिया