नेपाल वेस्ट इन्डिजसँग पराजित

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भर्खरै सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २३८ रनमात्र बनाउन सकेको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन जोड्दा, रोहित पौडेलले ४३ बलमा ३०, आशिफ शेखले ३६ बलमा २८, करण केसीले २७ बलमा २८, दिपेन्द्र सिंह ऐरीले २० बलमा २३ रन जोडे । यस्तै, कुशल भुर्तेल ६ बलमा ५, भीम सार्की ७ बलमा २, कुशल मल्ल ६ बलमा २ रन तथा सन्दीप लामिछाने ४ बलमा १ रनमा आउट भए ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेफ, किमो पल र अकिल हुसेनले २–२ विकेट लिँदा कायली मेयर्सले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनबनाएको थियो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक १३२ रनको योगदान दिए । 

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : ५८ बजे