एमालेले ६ हजार ७४३ वडामा प्रचार विभागकाे सञ्जाल विस्तार गर्ने

काठमाडौं।  नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले देशभरका सवै वडामा प्रचारको काम अघि बढाउने निर्णय गरेको छ।

एमालेका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा आज बसेको विभागको बैठकले सवै प्रदेश र पालिकाका वडा तहसम्म प्रचार विभागको काम विस्तार गर्ने निर्णयसहित सञ्जाल निर्माण गर्ने गरेको हो।

‘प्रचारको कामलाई देशब्यापी बनाउन जरुरी छ, अब मुलुकभरका ६ हजार ७४३ वटै वडा, ७५३ वटै पालिकामा प्रचार विभागका प्रमुख तोकेर सञ्जाल निर्माण गर्दै काम अघि बढाउने र सवै तहका प्रचार प्रमुखलाई केन्द्रीय प्रचार विभागसँग जोडने काम गरिने छ,’ बैठकको निर्णय सुनाउँदै केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो । उहाँले सवै जनसंगठनका प्रचार बिभाग प्रमुख र प्रवक्तालाई पनि बिभागसँग जोडेर एउटै लयमा प्रचारको कामलाई ब्यवस्थित रुपमा लैजाने जानकारी दिनुभयो ।

बैठकमा कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले प्रचारको कामलाई नयाँ ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनु भयो। ज्ञवालीले भन्नुभयो, ‘पार्टीले महत्व दिएको तीन क्षेत्र प्रचार, पार्टी स्कूल र जनसंगठन हो। अहिले जे चुनौति देखिएका छन, त्यसलाई सामना गरेर अघि बढनका लागि यी तीन क्षेत्रमा जिम्मा पाएका नेता कार्यकर्ताहरु फ्रन्टलाइनका योद्धा हुन।’

उहाँले अहिले पार्टीबिरुद्ध चौतर्फी हमला भएको बताउनुभयो । ‘अहिले हामीबिरुद्ध चौतफी प्रचार हमला छ। प्रोपगाण्डा वार नै छ हामीबिरुद्ध,’ कार्यबहाक महासचिव ज्ञवालीले भन्नुभयो, ‘सामाजिक मुद्धामा सही ढंगले प्रस्तुत भएर जनताको मुद्धा बोकेर हिडने काममा हामी सवै तहमा भूमिका खेल्नुपर्छ ।’

बैठकमा बोल्दै नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिलेसम्म जे जति खाल्डो परेको छ, त्यसलाई पुरेर पुर्ताल गर्ने कामका लागि पार्टीले प्रचार, पार्टी स्कूल र जनसंगठनलाई बिशेष प्राथमिकता दिएर संयोजन गर्ने जिम्मा दिएको बताउनु भयो। ‘संघीय संरचनाअनुसार सवै तहमा प्रचारको कम्तीमा एकजना जोडिनै पर्ने गरी काम अघि बढाउनु पर्ने उहाँको सुझाव थियो।

प्रचारको काम प्रदेश र जिल्लामा भएन भनेर नै कामलाई ब्यवस्थित गर्न प्रदेशमा प्रचार हेर्ने जिम्मेवारी तोकिएको छ, यसलाई यही रुपमा बुझेर तोकिएका केन्द्रीय सदस्यहरुले प्रदेश प्रचार बिभागलाई सक्रिय बनाउनु पर्छ, जिल्ला, पालिका र वडासम्म योजना बनाएर काम अघि बढाउन जरुरी छ,’ उपमहासचिव रिमालले भन्नुभयो । उहाँले प्रत्येक वडामा प्रचार बिभागको १ जना ब्यक्ति तोकेर काम अघि बढाउनु पर्ने सुझाव दिनुभयो।

बैठकमा प्रदेशमा प्रचारको जिम्मेवारी तोकिएका सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्नो योजना राख्नुभएको थियो । कोशी प्रदेशका युवराज बाँस्कोटा, मधेश प्रदेशका अरबिन्द सिंह, बागमति प्रदेशका सुवास देवकोटा, गण्डकी प्रदेशका राजीव पहाडी, कर्णाली प्रदेशका निरज सापकोटा र सुदुरपश्चिम प्रदेशका कमला बोहोराले आफ्नो प्रदेशका प्रचार योजनाबारे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ४ : ४७ बजे