दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

जानकी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । 

द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ । 

प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आए पनि अस्पतालको विकासका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान जान सकेको छैन । 

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा अमिन कुमार श्रेष्ठका अनुसार प्रदेशभरिका प्रहरी कर्मचारी बिरामी हुँदा सिधै काठमाडौँ गएर उपचार गराउन नपाउने व्यवस्था छ । गम्भीर प्रकृतिका बिरामीको उपचार उक्त अस्पतालमा सम्भव नभएको अवस्थामा मात्र काठमाडौँ रेफर गर्ने गरिएको उहाँले बताउनुभयो । 

डा श्रेष्ठका अनुसार उक्त अस्पतालमा लामो समयदेखि विशेषज्ञसहितको टोलीले बिरामीको उपचार गर्दै आएको छ । “कर्णाली प्रदेशमा प्रहरी अस्पताल स्थापना नभएकाले सो प्रदेशका सबै बिरामी यहाँ उपचारका लागि आउने गरेका  छन्”, उहाँले भन्नुभयो । 

लुम्बिनी प्रदेशलाई लक्षित गरी १५ शय्याको उक्त अस्पतालले अहिले कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनीहरूको परिवारका सदस्यको उपचार गर्दै आएको छ । “ तीन प्रदेशका बिरामीको उपचार गर्नुपर्दा १५ शय्या अपुग भयो, यो पर्याप्त होइन”, निर्देशक डा श्रेष्ठले भन्नुभयो– “बिरामीको चापलाई हेर्दा तत्काल अस्पताललाई ५० शय्याको बनाउनुपर्ने आवश्यकता छ ।”  

बिरामीको चापलाई मध्यनजर गर्दै उक्त अस्पताललाई ५० शय्याको बनाउनका लागि नेपाल प्रहरी अस्पताल केन्द्रीय कार्यालय महारजगञ्ज र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको डा श्रेष्ठले बताउनुभयो । अस्पताललाई तीन वटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना छ ।  

अस्पताल भित्रका प्रहरी विभागका प्रहरी चिकित्सकले  नै सेवा दिँदै आएका छन् । छालाको रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको डा श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार छालाको उपचार आइतबार, स्त्रीसँग सम्बन्धित रोगको उपचार बुधवार, सर्जरी बिहीबार हुन्छ भने मानसिक रोगको उपचार शुक्रवार हुने गर्दछ । 

२४ सै घण्टा आपत्कालीन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्स-रे र फिँजियो थेरापी सेवा प्रदान गर्दै आएको छ । अस्पतालको सवालाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले रु नौ करोडको भवन निर्माण गरिरहेको छ । 

अस्पतालमा बिरामी कुरुवा घर र पार्किङको व्यवस्था नहुँदा समस्या भएको छ । “यसै अस्पतालबाट सर्वसाधारण पनि स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ”, डा श्रेष्ठले भन्नुभयो । रासस

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : २४ बजे