न्यायको मजाक उडाइयो : प्राध्यापक चलाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका बृहत् नागरिक आन्दोलनलगायत केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन् ।

धर्नास्थलमा वैशाखी टेकेर पुगेका चलाउनेले घामजस्तै छर्लंग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा भएको जनाए । उनले आफू पीडित हो कि होइन भन्ने कुरा अदालतले भन्नुपर्ने पनि माग गरे ।

अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने उनको तर्क छ । चलाउनेले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको दाबी गरे । उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतीकरण गरेको प्रतिक्रिया दिए । उनले प्राध्यापकमाथि दिनदहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको भन्दै रोष प्रकट गरे ।

उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभूति भएको प्रतिक्रिया दिए ।

उपप्राध्यापक चलाउनेको समर्थनमा जिल्ला अदालत काठमाडौं परिसरमा मंगलबार केहीबेर प्रदर्शन भएको थियो । चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शन गरेका छन् । चलाउनेमाथि २०७७ असोज २० गते सांघातिक आक्रमण भएको थियो । उक्त आक्रमणमा संलग्न रहेकाहरुलाई मन्त्रिपरिषद्को बैठकले उन्मुक्ति दिने निर्णय गरेसँगै चलाउनेले सोमबार साँझदेखि अनशन थालेका हुन् ।

विश्वविद्यालयलाई हिंसारहित बनाउन र पीडित चलाउनेलाई न्याय दिलाउन नागरिक आन्दोलनका अभियन्ताहरूले प्रदर्शनलाई निरन्तरता दिने जनाएका छन् । सरकारले मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि चलाउने सोमबार अदालत पुग्दा प्रहरी नियन्त्रणमा लिएर ४ घण्टापछि छाडेको थियो । त्यसपछि उनी अनशन बस्न कीर्तिपुर पुगेका थिए ।

उनीमाथि दीपकराज ओझा, रुपेश साह, रवीनकुमार लामा, सयुज श्रेष्ठ र नीरज राना मगरले आक्रमण गरेका थिए । नेविसंघ कार्यकर्ता हरि आचार्य र योगेन्द्र रावलले भने आक्रमणको योजना बनाएको प्रहरी अनुसन्धानमा भेटिएको थियो ।

चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन रहकै अवस्थामा सरकारले मंगलबार मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : १२ बजे