आज वर्षाको सम्भावना

हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो।

सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो। बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उहाँले जानकारी दिनुभयो। “केही दिनभित्रै यातायात पुनः सुरु हुन्छ”, पोखरेलले भन्नुभयो।

आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतीक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : १५ बजे