आज वर्षाको सम्भावना

नेपाली पुस्तकलाई सीमामा कडाइ नगर्न कुलपति राईको आग्रह

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारत लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आएको भन्दै समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौँमा आयोजित ‘पुस्तक विमोचन एवं परिचर्चा’ कार्यक्रममा कुलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पुर्‍याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा उहाँले डा श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनुदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गर्नुभएको थियो । 

दुवै पुस्तकहरू दुई देशबीच भाषिक, साहित्यिक, सांस्कृतिक एवं कलाको आदानप्रदानमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले दुई देशबीचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।
 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ०८ बजे