राजनीति विगतको समीक्षामा अल्झेर होइन, वैचारिक जगमा भविष्यको प्रश्नमा केन्द्रित भएर अगाडि बढ्न सक्नुपर्छ । जोन एफ केनेडीको भनेका थिए, “हामी रिपब्लिकन जवाफ वा डेमोक्र्याटिक जवाफ होइन, तर सही जवाफ खोजौँ । विगतलाई दोषारोपण गर्ने प्रयास नगरौँ । भविष्यको लागि आफ्नो जिम्मेवारी स्वीकार गरौँ ।” तर यतिखेर नेपालमा कम्फर्टेलवादी र सस्तो लोकप्रियतावादीहरूले जस्तो खालको राजनीति गर्न खोजिरहेका छन्, त्यसले जनताको अपेक्षा र देशको आवश्यकताप्रति केन्द्रित भएर देश र जनताको भविष्य राम्रो बनाउने कुनै विचार र परिकल्पना दिन सकेको छैन । तापनि खोटपूर्ण दृष्टिकोणका साथ क्रियाशील पात्र र प्रवृत्तिलाई आमजनताले चिन्न पनि सकेका छैनन् ।
यतिबेला भारतको नयाँ संसद् भवनमा राखेको भारतले भने झैँ अखण्ड भारतको सांस्कृतिक नक्साको विरोधमा हामी र हाम्रो राजनीति अस्वाभाविक रूपमा अलमलिन पुगेको छ । भारतको त्यो नक्साको प्रतिरोधमा ग्रेटर नेपालको नक्सा देखाईंदैछ । तर हामीले बुझ्नुपर्छ, “ग्रेटर नेपालको नक्सा नेपालमा नेपालीलाई नै अल्पमत पार्ने चाल हो । सिमाना बढाउँदा भूमि मात्र बढ्ने त होइन नि, ठुलो जनसङ्ख्या पनि थपिन्छ ! भूमि स्विकार्ने तर जनता अस्वीकार्ने त होइन होला ? नेपालीलाई भावनात्मक रूपमा भड्काएर भारतीय स्वार्थ पूरा गर्ने रणनीतिअन्तर्गत ग्रेटर नेपालको खेती गरिँदै छ ।” यही नक्सा प्रकरणलाई लिएर रक्षा बमले राखेको धारणा वास्तव मै मननीय छ । उनी लेख्छिन्, “माफ गर्नुहोला महोदय, हामीलाई नक्सा ठुलो भएको ग्रेटर नेपाल होइन, मुटु अर्थात् मन ठुलो भएको बेटर नेपाल चाहिएको छ ।”
समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न राजनीति विचारबाट अनि देश वैचारिक राजनीतिबाट निर्देशित हुनुपर्छ । यतिबेला प्रगतिशील लोकतान्त्रिक वैचारिक राजनीति घेराबन्दीमा पर्दा देश गतिहीन अवस्थामा पुगेको छ । किनभने भ्रमित भिडको बलमा कम्फर्टेलवादी र सस्तो लोकप्रियतावादीहरूले राजनीति गरेर देश चलाउने प्रयास गरिरहेका छन् । अहिलेको संसद्मा उनीहरूको नै बलियो उपस्थिति छ । जसका कारणले समृद्ध नेपाल, खुसी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पसँगै देशको स्वार्थ अलपत्रमा परेको छ ।
राज्य चलाउनेहरूको दृष्टिकोणमै खोट देखिन्छ । देशको समृद्ध बनाउने आधार के हो ? थाहा छैन । भन्सार र विप्रेषणमुखी नवउदारवादी अर्थ व्यवस्थाले देश हिजोभन्दा आज झन् कमजोर र परनिर्भर बन्न पुगेको कुनै पत्तो छैन । निर्यात वस्तु गर्ने हो कि नागरिक र कर केमा लगाउने केमा नलगाउने त्यति पनि थाहा नभएको क्रान्तिकारी प्रधानमन्त्री र विद्वान अर्थमन्त्रीको नीतिबाट देश प्रताडित हुँदै छ र पछाडि पर्दैछ । तैपनि कम्फर्टेबलवादीहरू सत्ताको दुरुपयोग गरेर जनता झुक्याउन त सस्तो लोकप्रियतावादीहरू भ्रम छरेर जनतालाई भावनात्मक रूपमा भड्काउन अनेक प्रपञ्चहरू गरिरहेका छन् । तर जनताले तिनका षडयन्त्र र बदमासीहरू चिन्न सकिरहेका छैनन् । हामीले बुझ्नु र बुझाउनुपर्छ, “विचार र नीतिविनाको राजनीति, सान्दर्भिकता र सृजनशीलता विनाको शिक्षा अनि सहअस्तित्वसहित सद्भाव र सहकार्य गर्न नसिकाउने सामाजिक व्यवस्था सधैँ समस्या कारण बनिरहन्छ ।”
यतिबेला एकातिर कम्फर्टेबलवादीहरू सत्तामा बसेर जनता अलमल्याउने काम गरिरहेका छन् भने अर्कातिर सस्तो लोकप्रियतावादीहरू भावनात्मक रूपमा जनतालाई कमजोर बनाएर भड्काउने गतिविधिहरू गर्दैछन् । नेपालको राजनीति यी दुई प्रवृत्तिका कारणले अन्योलग्रस्त बन्दै छ र आम नेपालीहरू भ्रमित बनाएर परिचालन गराउने खतरा बढेको छ। देशको यस्तो परिस्थिति र जनताको भ्रमित मनस्थितिलाई बाह्य पक्षहरूले नेपालमा नियन्त्रित अस्थिरता कायम गर्ने मुख्य आधार बनाएका छन् । त्यसैले उनीहरूले देशभक्त तथा प्रगतिशील शक्तिलाई विभाजित बनाएर कमजोर बनाउने रणनीतिअन्तर्गत कम्फर्टेबलवादी र सस्तो लोकप्रियतावादीहरूलाई घोषित अघोषित रूपमा सहयोग गरेर मनोबल बढाउने काम गरिरहेका छन् । तर जनताले बाह्य पक्षका यस्तो रणनीतिक षडयन्त्र बुझेका छैनन् ।
नेपालको वर्तमान राजनीतिमा क्रियाशील पात्र र प्रवृत्तिहरूलाई चिन्नका लागि उनीहरूको राजनीतिक दर्शन र सामाजिक आर्थिक नीति अनि उनीहरूको निकट विगत र नियत पनि जनताले बुझेको हुनुपर्छ । जनतालाई बुझ्ने बनाउनका लागि बौद्धिक वर्गले स्वतन्त्र र निष्पक्ष भएर विश्लेषणात्मक लेख, टिप्पणी र संवादमार्फत नियमित रूपमा जनतालाई प्रशिक्षित गर्नुपर्छ भने सञ्चार माध्यमहरूले राज्यको चौथो अङ्ग रूपमा क्रियाशील भएर जनतालाई सुसूचित गर्न सक्नुपर्छ । देशको बढ्दो गरिबी र पछौटेपनको अन्त्य गर्न नीतिहरूको राजा राजनीति र यसको नेतृत्व वर्ग वैचारिक रूपमा स्पष्ट र व्यवहारमा प्रतिबद्ध हुनै पर्छ । विचार र नीतिविनाको राजनीति अनि चरित्र र नैतिकताविनाको नेतृत्वको सत्य तथ्य बुझेर आलोचना गर्दै जनतालाई उनीहरूको वास्तविकता पनि चिनाउनुपर्छ ।
सैद्धान्तिक रूपमा लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको आधारमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु दल र नेतृत्वको रणनीति र कार्यनीति हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रमा जनता सार्वभौम हुन्छन् । संविधान र विधिको सर्वोच्चता हुन्छ । लोकतान्त्रिक दलहरूले आफ्ना नीति र कार्यक्रमहरू जनमतबाट अनुमोदन गर्ने विधिलाई स्विकार्छन् । त्यसलाई व्यवहारमा उतार्न नागरिकदेखि लिएर नेतृत्वमा स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ । त्यो दृष्टिकोण विकास गर्नका लागि राज्य र राजनीतिक दलहरूले औपचारिक तथा अनौपचारिक माध्यमहरूलाई आधार बनाउनुपर्छ ।
आज नेपालको राजनीतिमा खराबहरू निर्णायक देखिएका छन् भने खराब शिक्षा व्यवस्थामा लगानी भइरहेको छ । जसका कारणले जनताहरू भ्रममा छन् र असल खराब छुट्याउन नसकेर खराबको पक्षमा देखिएका छन् । अनि देशमा नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीतिले प्राथमिकता पाएको छ । शिक्षालयदेखि लिएर कार्यालयहरू नागरिक निर्यात गर्ने आधार तयार गर्नमा व्यस्त छन् । त्यसैले नागरिकको मनस्थितिदेखि लिएर देशको परिस्थिति सकारात्मक बनाउन राजनीति वैचारिक हुनै पर्छ किनभने थोमस म्यानकानुसार “हरेक कुरा राजनीति हो ।” तर हाम्रो राजनीति अरूलाई खराब देखाउनमा केन्द्रित छ, जबकि आफू कति असल, दूरदर्शी, आदर्शवान्, नैतिकवान् र चरित्रवान् व्यवहारबाट प्रमाणित गर्नुपर्थ्यो ।
वास्तवमा राजनीति आफ्नो असल र सबल पक्षको जगमा गरिनुपर्छ नकि अरूको खराबी देखाएर । मतलब नकारात्मक मनोविज्ञानको जगमा होइन, सकारात्मक दृष्टिकोणको जगमा वैचारिक राजनीति गर्न सबै पक्ष तयार हुनुपर्छ । आफ्नो राजनीतिक विचार के हौ ? स्पष्ट र सरल भाषामा जनतालाई भन्नुपर्छ । तर नेपालमा पछिल्लो समय कहिले विचारभन्दा माथि देश भनिँदै त कहिले संविधानवाद र व्यवहारवादको नौटङ्की गरिँदै नयाँ जति सबै राम्रा पुराना जति सबै नराम्रा भन्ने भाष्य निर्माण गरेर जनमनोविज्ञान भ्रमित बनाउने काम भइरहेको छ । “नयाँ जोगीले बढी खरानी घस्छ” भने झैँ नयाँ भन्नेहरू ठुलो स्वरमा हामीलाई घेराबन्दी गरिँदै छ भनेर आफ्नो महत्त्व बढाउने दुष्प्रयास गर्दैछन् । राजनीतिमा आएका नयाँ पात्रहरूले राजनीतिको मर्म र धर्म नै बुझेको देखिएन । त्यसैले त उनीहरू विचारको कुरा गर्दैनन्, नीतिमा स्पष्ट छैनन्, नेतृत्वको चरित्र र नैतिकतामाथि प्रश्न उठ्दा जिम्मेवार हुँदैनन् । उनीहरूले राजनीतिलाई पद प्राप्तिको एउटा मुख्य माध्यम बनाएका छन् । अनि त्यहीअनुसार कहिले के भन्छन्, टुङ्गो छैन ।
जबकि राजनीति एउटा महान् कार्य हो । यसमा संलग्न पक्षहरूको दृष्टिकोण र नीतिसँगै नियत, नैतिकता र चरित्र पनि स्पष्ट र स्वच्छ हुनुपर्छ । तर आज नयाँ पात्रहरू राजनीतिक रूपमा आफूमाथि उठेका प्रश्नहरूबाट पन्छिएर आफूलाई अब्बल देखाउने प्रयास गर्दैछन् । यस प्रसङ्गमा रेखा न्यौपानेले सामाजिक सञ्जालमा लेखेकी छिन्, “मान्नुस् या नमान्नुस्, हिजो प्रश्न गर्दै उदाएका पात्र र पार्टी आज प्रश्नबाट पन्छिन खोज्दै छ र उदास देखिँदै छ ।” त्यसैले त ती पात्र कसैले प्रश्न गर्यो भने उत्तर दिदैन् बरु आक्रोश व्यक्त गरेर मपाईँत्व प्रदर्शन गर्दैछ। यसर्थ राजनीतिक दल र नेतृत्वका बारेमा ठोस धारणा बनाउनुभन्दा अघि हामीले राजनीति दल र त्यसको नेतृत्वका बारेमा राम्रो अध्ययन र मूल्याङ्कन गर्नुपर्छ। विगतले वर्तमान अनि वर्तमानले भविष्यको चित्रण गर्छ भनेर बुझ्नुपर्छ ।
राजनीतिमा देखिएका नयाँ पात्रहरूमध्ये हर्क साम्पाङलाई छोडेर अरूलाई विश्वास गर्ने ठाउँ छैन किनभने तिनीहरू प्रायोजित हुन् । तीमध्ये केहीको विगत विवादास्पद र शङ्कास्पद छ । व्यक्तिगत लाभमा नेपाली नागरिकता, आफ्नो श्रीमती र सन्तानहरू त्याग्न पछि नपर्ने र अप्ठ्यारो पर्दा फेरि नेपाली नै हुँ भनेर देश र जनता झुक्याउने पात्रलाई आदर्श नठानौँ ! यस्ता पात्रहरू अवसरवादका राम्रा उदाहरण हुन् ।
भोलिको नेपाल समृद्ध बनाउने हो भने हामीले समर्थन गर्ने राजनीति पनि सम्वृद्धिमुखी नै हुनुपर्छ । अहिले राजनीतिमा देखिएका पात्रहरूमध्ये अपवाद छोडेर प्रायः सबैका सन्तान विदेशी नागरिक बनिसकेका छन् । जसका सन्तानले नेपाली नागरिकता त्यागिसके र नेपालमा छैनन् तिनका अभिभावकले भोलिको नेपाल राम्रो बनाउन होइन, सत्ता सुविधा उपभोग गर्न मात्र राजनीति गरिरहेका छन् भनेर हामीले बुझ्नुपर्छ । त्यसैले त तिनका गतिविधिहरू कहिले अति क्रान्तिकारी देखिन्छ त कहिले आत्मसमर्पणकारी । अब कुनै भ्रममा नपरी यथार्थ र तिनका नियत बुझेर देशको पक्षमा वैचारिक रूपले स्पष्ट अनि मन, वचन र कर्मले प्रतिबद्ध भएर क्रियाशील भइरहेका राजनीति र पात्रहरूलाई चिनौँ र रोजौँ । अन्तमा “शिक्षा बदलिएपछि मान्छे बदलिन्छ, राजनीति पनि बदलिन्छ । शिक्षा र राजनीति बदलिएसँगै राष्ट्रको मानसिकता पनि परिवर्तन हुन्छ । तर दुर्भाग्य, राष्ट्रको राम्रो भविष्यका लागि शिक्षामा परिवर्तन गर्न हामी तयार भएनौँ ।”
प्रकाशित मिति : ४ असार २०८०, सोमबार ८ : २६ बजे
प्रतिक्रिया