साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आदिपुरुष विवाद : आजदेखि काठमाडौँमा हिन्दी सिनेमा नचल्ने

काठमाडौँ  । आजदेखि काठमाडौँमा हिन्दी सिनेमा नचल्ने भएका छन् । 

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रतिबन्ध लगाएपछि हिन्दी सिनेमा नचल्ने भएका हुन । 

‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको थियौँ,’ शाहले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि ९आज० देखि निषेध गरिएको छ ।’ 

उहाँका अनुसार नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्र हितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उहाँले भन्नुभएको छ , ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ 

उहाँका अनुसार उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै हिन्दी सिनेमा नै काठमाडौँमा चल्न नदिने मेयर शाहले घोषणा गर्नुभएको हो। 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ४९ बजे