आज वर्षाको सम्भावना

वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा देवकोटाको अर्धकदको प्रतिमा अनावरण

काठमाडौँ । वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । 

विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिनुभएको प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।

चौतीस वर्षका अवधिमा उहाँले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका प्राडा देवकोटाले वीर अस्पतालमा न्युरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।  

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा डा दिनेशनाथ गङ्गोल र पूर्व मन्त्री वाचस्पति देवकोटाले संयुक्त रूपमा अनावरण गर्नुभयो ।

नेपालमा आधुनिक स्नायु शल्य चिकित्सक विधालाई सुरुआत गराउनुहुने प्राडा देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्य चिकित्सा विधाको विकास र विस्तारमा प्राडा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताउनुभयो । 

उहाँले प्रा डा उपेन्द्रको योगदान चिरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिनुभयो । 

स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्राडा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रूपमा विसं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो । रासस

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : ०० बजे