प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।  

सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नुहुने छ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ५७ बजे