काठमाडौँ । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रो बस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रो बस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।
काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछा पोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रो बस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।
महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित टिकट काउण्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिक रूपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । “माइक्रो बस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ र काउण्टरको व्यवस्था गरिएको छ”, प्रहरी प्रमुख पाण्डेले भन्नुभयो ।
नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ ।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रो बसलाई नयाँ काउण्टर निर्माणको काम भइरहेको बताउनुभयो । कामपाको निर्णयले सार्वजनिक यातायात सञ्चालन थप व्यवस्थित र भरपर्दो हुने उहाँको भनाइ थियो ।
माइक्रो बस तथा जीप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताउनुभयो । “कामपाले आजदेखि लागू हुने गरी लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनमा लागेका छौँ”, उहाँले भन्नुभयो ।
यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठुला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रो बस र बल्खुबाट हेटौँडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका थिए ।
नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनमा भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गर्नुभयो ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि कामपाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ ।
प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ११ : ४७ बजे
प्रतिक्रिया