दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चितवनका तीन हजार तीन सय ८० गाई भैँसीलाई लम्पीस्किन विरुद्धको खोप लगाइयो

चितवन ।  चितवनका तीन हजार तीन सय ८० गाई भैँसीलाई लम्पीस्किन विरुद्धको खोप लगाइएको छ । 

पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाइएको हो ।  

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०,  रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० गाई भैँसीलाई लम्पीस्किन विरुद्धको खोप लगाइएको छ । खोप खरिदका लागि कार्यालयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उहाँले जानकारी दिनुभयो । 

प्रदेश सरकार र सङ्घीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो । आचार्यले भन्नुभयो, “सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन । अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ ।”

कार्यालयमा बजेट नहुँदा कृषक आफैँले खोप खरिद गरेका हुन् । अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैँ खोप खरिद गरी लगाएका छन् । कार्यालयले अहिलेसम्म पाँच हजार गाई भैँसीलाई औषधि वितरण गरेको उहाँले जानकारी दिनुभयो । रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ ।

कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । जनचेतनाका लागि पालिका स्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उहाँले जानकारी दिनुभयो । रोग के हो ? रोग नियन्त्रण कसरी गर्ने ? र यसका औषधिका बारेमा जानकारी दिइएको आचार्यले बताउनुभयो ।

लम्पीस्किनका कारण गाई भैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । जिल्लामा हालसम्म चार हजार एक सय गाई भैँसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।

गाई भैँसीमा यो रोग देखाइपरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्छ ।

यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । 

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किन विरुद्धको खोप लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : ४९ बजे