रोम । ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
सोही समयमा दुर्घटनापछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार घटना बुधवार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताउनुभयो । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उहाँले जानकारी दिनुभयो ।
राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरूको खोजी कार्य आजबाट पुनः सुरु गरिने छ ।
सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । अधिकारीहरूका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो ।
यसअघि, संयुक्त राष्ट्रसङ्घले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्विट गरेको थियो । खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशङ्का छ।
प्रारम्भिक रिपोर्ट अनुसार डुङ्गामा ४ सय जना सवार थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताउनुभएको छ ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार ८ : ११ बजे
प्रतिक्रिया