भारतबाट अवैध रूपमा नेपाली मुद्रा धमाधम भित्रिँदै

काठमाडौँ । सशस्त्र प्रहरीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

विओपी बरैनिया बाराले स्रोत नखुलेको १५ लाख रूपैयाँसहित भारतस्थित पूर्वी चम्पारणका  रामनिवास प्रसाद यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरीको सहायक प्रवक्ता रहेका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बीआर ०५ वाई २६२४ नम्बरको  मोटरसाईकल प्रयोग गरि भारतबाट नेपाल आएका यादवको साथबाट स्रोत नखुलेको १५ लाख रूपैयाँ सशस्त्र प्रहरीले बरादम गरेको थियो ।

भारतीय नागरिक यादवलाई सशस्त्र प्रहरीले मंगलबार नै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाएको छ । पछिल्लो समय भारतबाट मोटरसाइकलमा नेपाली मुद्राको अवैध ओसारपसार बढ्दै गएको पाइएको छ । सशस्त्र प्रहरीले पटक पटक  अबैध रूपमा ल्याउँदै गरेको नेपाली रूपैयाँ बरामद गर्दै आएको छ ।

लाखौँ नेपाली  रूपैयाँ भारतबाट नेपाल ओसार्न थालिएपछि कालोधनहरू भारतमा लगेर लुकाएको हो कि भन्ने अशंका बढी रहेको छ । प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्दा नेपाली मुद्राको अवैध ओसारपसारको जालो तोड्न सकेको छैनन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १ : ४४ बजे