साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सामाजिक आर्थिक विचारहरूले मात्र राजनीति र राज्यलाई मार्गदर्शन गर्न सक्छ ?

हामी कति भयभीत, भ्रमित र अपरिपक्व छौँ भने भारतले उसको नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको सांस्कृतिक नक्सालाई लिएर विभाजित भइरहेका छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारतको औपचारिक भ्रमण गर्दा त्यसको कूटनीतिक विरोध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गर्न सकेनन् । हामीले पनि त्यो नक्साको तथ्यसँगत विरोध गर्न एकमत भएर सरकारलाई सहयोग र दबाब दिन सकेनौँ । तर ग्रेटर नेपालको नक्सा देखाउँदै बहादुरी प्रदर्शन गरेर भारतको मनोबल बढाइरहेका छौँ । जबसम्म यो खालको चेतना हामीमा कायम रहन्छ, तबसम्म भारतले हामीलाई हेप्ने काम अनि कम्फर्टेबल सरकारबाट भारतले आफ्नो स्वार्थ पूरा गरिरहन्छ ।

नक्सा प्रकरणलाई लिएर गोकुल बाँस्कोटा लेख्छन्, “अङ्ग्रेजले भारत छाड्दै गर्दा नेपालमा उदाउँदो काँग्रेस, अस्ताउँदो राणा शाही र शक्ति पुन स्थापनामा तल्लीन राजाका कारणले अङ्ग्रेजसँग १८१६ को सुगौली सन्धिले गुमाएको जमिन पुनः प्राप्ति गर्ने मौका नेपालले गुमायो । सुगौली सन्धिले कायम गरेको नेपालको रक्षा गरौँ । नालापानी चाहिन्न, कालापानी छोडिन्न ।” त्यस्तै कलाकार दीपकराज गिरी लेख्छन्, “अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठुलो भा भए के गर्थे होलान् ? भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ ।” अनि कृष्णप्रसाद अर्याल लेख्छन्, “न अखण्ड भारत थियो न सम्भव छ, ग्रेटर नेपालको त कल्पनै नगरौँ ! दुनियाँलाई चुतिया बनाएर राजनीति गर्ने दिन कहिले सिद्धिने होला ? भएको बचाऔँ, एकले अर्काको मर्यादाको ख्याल गरौँ । यही पारा हो भने युक्रेनको नियति नहोला भन्न सकिन्न । नेपाल र भारतको समान रोग भोटको लागि जनता झुक्याउन बन्द गर ।”

“नराम्रा यसै नराम्रा थिए, राम्रा भनिएका पनि झन् नराम्रा देखिए । समस्या हाम्रो चिन्तन प्रणाली र अभ्यास छ, तर हामी भने समस्या व्यक्तिमा मात्र देखिरहेका छौँ ।” सि.राईट मिल भन्छन्, ““तपाईँले कुनै पनि व्यक्तिलाई वास्तवमा बुझ्न सक्नुहुन्न जबसम्म तपाईँले समाज, ऐतिहासिक समय अवधि, व्यक्तिगत समस्याहरू र सामाजिक समस्याहरू बुझ्नु सक्नुहुन्न ।” नक्सा प्रकरणलाई लिएर अहिले त्यस्तै भइहरेको छ, हामी समस्या एकातिर समाधान अर्कातिर खोज्नमा रमाउन खोजिरहेका छौँ । भारत पुगेर पनि प्रधानमन्त्री प्रचण्डले नक्सा प्रकरणको भारतसँग औपचारिक विरोध नगरेकोमा डा. दिनेश पौडेल लेख्छन्, “देशले खोजेको स्वाधीन अर्थतन्त्र र स्वावलम्बी समृद्धि नै हो । भारतको भ्रमणको बेला प्रधानमन्त्रीले व्यक्त गर्नुभएका अभिव्यक्तिहरू नेपालले खोजेको स्वाधीन अर्थतन्त्रतर्फ उन्मुख छैन । देशलाई निरन्तर पराधीनतातर्फ उन्मुख गराउनु नै खासमा लेण्डुप पथ हो ।”

खराब सङ्गत, विचार, सूचना र चेतनाले असल परिणामका लागि हामीलाई कार्यशील हुने क्षमता दिदैन् भने खराब खानाले शारीरिक तथा मानसिक स्वस्थ कमजोर बनाउँछ । त्यस्तै खराब राजनीतिक, प्रशासनिक, प्राज्ञिक, न्यायिक र सामाजिक तथा धार्मिक नेतृत्वले देशलाई खराब परिणाम व्यहोर्न बाध्य बनाउँछ भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन र प्रचण्ड नेतृत्वको सरकारका गतिविधिहरूले प्रमाणित गरिरहेको छ । यो गठबन्धन र सरकारले राष्ट्रिय स्वाधीनता कमजोर बनाउने काम गर्दैछ । किनभने विचारमा आधारित भएर होइन दबाबमा प्रभावित भएर सरकार र राज्य सञ्चालनको प्रयास गरिरहेको छ । प्रचण्ड नेतृत्व सरकारलाई लिएर राजनीतिक विश्लेषक प्रा.कृष्ण खनाल लेख्छन्, “नेपाल–भारत सम्बन्ध द्विपक्षीय लेनदेनको विषय मात्र होइन, व्यापक प्रकृतिको छ । यसमा उचित सन्तुलन कायम भएन भने सम्बन्ध अरू बिग्रन पनि सक्छ । सत्ता धरापमा परेपछि जता पनि ढल्किन तयार सरकार र शासकीय नेतृत्व अर्को जोखिम हो ।”

एम अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रचण्डको मूल चरित्र सानो कुरामा नै हौसिने हो । बिजुली व्यापार सम्झौता, भारतीय अखबारहरूको हेडलाइन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रणाले हौसिएका छन् । भारतसँग कम्फर्टेबल छु भनेर उनले बोली र व्यवहार उही बेलादेखि देखाएकै हुन् । यो पटकको भ्रमण त्यसको निरन्तरता मात्र हो । तर प्रचण्डको यो हौस्याई अर्को गम्भीर खतरापूर्ण निर्णायक सङ्केत हो ।” तर हामी भने त्यो खतरा देख्दैनौँ र दलीय राजनीतिमा विभाजित भएर कम्फर्टेबल गठबन्धन र प्रचण्डकै मनोबल बढाउने गल्ती गरिरहेका छौँ । आज प्रचण्डको बढ्दो दक्षिणपन्थी मनोविज्ञान र झुकावका कारणले एकातिर लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन राजतन्त्रवादीहरूलाई सजिलो भएको छ भने अर्कातिर हाम्रो आन्तरिक मामिलामा भारतको हस्तक्षेप पनि बढेको छ ।

प्लेटो भन्छन् “ठिक प्रश्न सामान्यतया ठिक उत्तरभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।” प्लेटोले ले भनेझैँ यति बेला हामीले देशको पक्षमा ठिक प्रश्न उठाएर जनतालाई सचेत र जागरूक बनाउनु पर्ने समय हो । यतिखेर हाम्रो दिमागमा सत्य प्रवेश गराएर ठिक प्रश्न गर्ने क्षमता विकास गर्नु पर्ने हो। त्यो सत्य अरूले होइन आफ्नै दिमागले पत्ता लगाउनु पर्नेछ । यो प्रसङ्गमा समाजशास्त्री नोअम चोमस्की भन्छन्, “कसैले तिम्रो दिमागमा सत्य हाल्ने छैन । यो त तपाई आफैँले पत्ता लगाउनुपर्ने विषय हो ।” आज हाम्रो व्यक्तिगत र राष्ट्रिय जीवनमा देखिएको सङ्कटको मुख्य कारण हाम्रो मौनता र अनावश्यक सक्रियता नै हो । यस सन्दर्भमा नेपोलियन बोनापार्टको भनाई सान्दर्भिक देखिन्छ । उनी भनेका थिए, “संसारले धेरै दुःख भोगिरहेको छ । खराब मानिसहरूको हिंसाको कारणले होइन । तर असल मान्छेहरूको मौनताको कारणले हो ।”

हिजोआज दलका राजनीतिक गतिविधिहरू वैचारिक जगमा दीर्घकालीन लाभलाई हेरेर भन्दा क्षणिक लाभ प्राप्त गर्न भ्रम, सस्तो लोकप्रियतावाद र उत्तेजनाको साहारामा भइरहेको छ । भाष्य निर्माण गर्ने सवालमा बौद्धिक वर्गहरूले सकारात्मक र रचनात्मक भूमिका निर्वाह नगर्दा र देशमा भ्रष्ट प्रवृत्ति बढ्दा आम नागरिक अन्योलमा परेको छ। यस्ता प्रवृत्ति र गतिविधिले ग्राहम ग्रिनको भनाई चरितार्थ गरेको छ । ग्राहम ग्रिनले भनेका छन्, “यहाँ हाम्रा सबैभन्दा खराब शत्रुहरू हाम्रो अज्ञानता र सरलता यद्यपि क्रूरता पनि होइनन्, हाम्रा सबैभन्दा ठुला र खराब शत्रुहरू त स्वार्थी बौद्धिक वर्ग र भ्रष्टहरू नै हुन् ।” यस्तो प्रवृत्ति हाबी हुनुका पछाडिको कारण हाम्रो कमजोर चेतना र विवेक अननि अस्वाभाविक अभ्यास नै हो । जसले गर्दा गुण दोषका आधारमा ठिक बेठीक र असल खराब छुट्याउने सामर्थ्य हामीमा विकास भएन । हामीमा प्रभाव, दबाब र प्रलोभनमा परेर निर्णयहरू गर्ने र निष्कर्षमा पुग्ने बानीको विकास भयो । 

राजनीति वैचारिक जगमा गर्नुपर्छ भन्ने मान्यतालाई छोडेर हिजोआज केही नयाँ तथा पुराना राजनीतिक दलहरू सक्रिय भइरहेका छन् । हामी आम नागरिक पनि सत्य तथ्य नबुझी लहलहैमा लागेर आस, त्रास र कुप्रभावमा परेर सस्तो लोकप्रियतावादको सहयोगी बनेका छौँ। २०७९ को स्थानीय निर्वाचन होस् कि सङ्घ र प्रदेशको निर्वाचनमा भ्रमले बजार पायो अनि विचारहीन पात्र र पार्टीहरूले अनपेक्षित जीत प्राप्त गरे। अझै पनि त्यही प्रकृतिको राजनीतिबाट नागरिकहरू प्रभावित भइरहेको अवस्था छ । तर यस्तो सस्तो लोकप्रियतामुखी भ्रमित भीडको राजनीतिले देशका समस्याहरूको दिगो समाधान गर्ने क्षमता राख्दैन र मार्ग निर्देश गर्दैन भन्ने चेत हामीमा आउनु पर्थ्यो। त्यो चेतको विकास गर्ने राम्रो र दिगो माध्यम एउटा शिक्षा हो भने अर्को सञ्चार माध्यम र सामाजिक सञ्जालहरू नै हुन् । यसर्थ शिक्षाको चरित्रअनुसार राजनीति र राजनीतिको चरित्रअनुसार राज्यको चरित्र बन्छ भन्ने कुरा हामीले हेक्का राख्नुपर्छ ।

अहिले प्रदेश १ को नाम कोसी प्रदेश राखेपछि पहिचानवादी आन्दोलनको नाममा अराजक तथा हिंस्रक गतिविधिहरू भइरहेका छन्। त्यस्ता गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्नुपर्ने बेलामा कम्फर्टेबल सरकारका प्रधानमन्त्रीदेखि लिएर सञ्चार माध्यमहरूले दोहोरो भूमिका निर्वाह गरेर परिस्थिति जटिल बनाउन खोज्दै छन् । आन्दोलनकारीहरूले पनि विवेक देखाएका छैनन् र अमूक पार्टीका नेताहरूमाथि आक्रमण गरिरहेका छन्। यो खालको अतिवाद कुनै पनि मूल्यमा स्विकार्न सकिदैन् । उनीहरूले विचारबाट होइन, व्यवहारिक पहिचानको राजनीति गर्छौँ भन्दै आफ्नो अवसरवाद लुकाएका छन्, त्यो अवसर पाउने बित्तिकै प्रकट हुनेछ, जसरी रवी लामिछाने गृहमन्त्री हुँदा अस्वाभाविक तरिकाबाट राष्ट्रिय परिचय पत्रको अभिलेखीकरण परियोजनामा १० वर्षमा लगभग १०० करोड ठेक्का कमिसन खाने चाँजोपाँजो मिलाएका थिए। जुन ठेक्का नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि रद्द गरिएको थियो ।  

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : ४२ बजे