भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु

​​​​​​​भक्तपुर । भक्तपुरमा राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका(४ को हर्ष चौकमा सो प्रतियोगिता शूरु भएको हो । प्रतियोगिताको शनिवार उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले विकास निर्माणसँगै नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताए ।

​​​​​​​कोरोनाले थलिएको खेलकुद क्षेत्र यस्ता प्रतियोगिताले चलायमान हुने नगर प्रमुख थापाको भनाई थियो । सूर्य विनायकमा राष्ट्रव्यापी भलिबल प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै थापाले नगरपालिकाले विकास निर्माणका साथै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको बताए । खेलाडीहरू राष्ट्रका गणना भएको बताउँदै प्रमुख थापाले नगरपालिकाले खेल क्षेत्रको विकासमा कुनै कञ्जुसाई नगर्ने प्रतिबद्धता जनाए ।

ओम सृजनशील समाजका अध्यक्ष अर्जुन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पनि मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

ॐ सृजनशील समाजको आयोजनामा भएको कार्यक्रम सूर्यविनायक नगरपालिका समन्वयमा सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए । केसीका अनुसार प्रतियोगिता सञ्चालन गर्न लक्की आलमुनियम र दक्षिण वाराही बृक उद्योगले मुख्य प्रायोजन गरेका छन् ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । रक्तदानको उद्घाटन समाजका संस्थापक अध्यक्ष कमल थापाले गरेका थिए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १ : ३० बजे