मङ्गलवारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौँ । नेपालमा आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । 

अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मङ्गलवारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपद् विज्ञ डा.धर्मराज उप्रेतीले जानकारी दिनुभयो । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधवार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो। 

आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।

चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यून चापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ । 

आज स्थानीय वायुका कारण काठमाडौँ उपत्यकामा गर्मी सामान्य घटेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ०१ बजे