आज वर्षाको सम्भावना

विद्यार्थीहरुलाई पढाउने आफ्नो इच्छा पुरा गर्न सकिन : राधिका शाक्य

​​​​​​​​​​​​​​भक्तपुर – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी एवं समाजसेवी राधिका शाक्यले साना विद्यार्थीहरुलाई पढाउने आफ्नो इच्छा पुरा गर्न नसकेको बताउनुभयो ।

बिहीबार सूर्य विनायक नगरपालिका वडा नं ८, सिपाडोल स्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पोसाक तथा स्टेसनरी वितरण गर्दै  समाजसेवी शाक्यले उक्त कुरा बताउनुभएको हो ।

जगत भैरव प्रतिष्ठानको सहयोगमा लक्षित विद्यार्थीहरूका लागि पोसाक तथा स्टेसनरी वितरण कार्यक्रममा बोल्दै समाजसेवी शाक्यले साना विद्यार्थीहरूको माझमा रहन पाउँदा आफूलाई खुसी लगाएको बताउनुभयो । उहाँले भन्नुभयो ” मलाई शिक्षक बनेर देशका कर्णधारहरूलाई शिक्षा दिएर उज्ज्वल भविष्य बनाउन योगदान दिन खोजे तर सकिन । बैङ्कमा जागिर गर्दै फुर्सद नहुँदा र अहिले पनि समय नहुँदा मैले विद्यार्थीलाई पढाउने आफ्नो इच्छा पुरा गर्न सकिन ।”

कार्यक्रममा बोल्दै समाजसेवी शाक्यले सहरी क्षेत्रमा विद्यार्थीहरूको अवस्था यस्तो छ भने झन् ग्रामीण भेगमा विद्यार्थीहरूको अवस्था कस्तो होला ? भन्दै प्रश्न गर्नु भएको थियो । मलाइ दुख लाग्छ शिक्षा क्षेत्रमा राज्यले बजेट छुट्ट्याउन विभिन्न सङ्घ संस्थाले पनि सहयोग गर्दा समेत सोचेको जस्तो अवस्था नरहेको बताउनुभयो । हरेक शिक्षकको दायित्व गहन छ । किताब, कलम, लुगा, जुत्ताले मात्रै शिक्षाको वातावरण राम्रो हुँदैन घर तथा शिक्षकले पठनपाठनको लागि राम्रो वातावरण बनाउन सहयोग गर्नु पर्ने बताउनुभयो । नीति निर्माण गर्नेहरूले शिक्षामा सैद्धान्तिक कुराले मात्रै होइन बेव्हारिक अनुगमन समेत गर्नु पर्ने अनुरोध गर्नुभयो । विद्यालय तथा शिक्षकहरूले आफ्नो बल बुताले भ्याएसम्म विद्यार्थीहरूलाई सामाजिक तथा सांस्कृतिक ज्ञान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद किरण थापाले समाजसेवी राधिका शाक्य महिला भएर पनि देशका लागि थुप्रै सहयोग र योगदान गरेको बताउनुभयो । आर्थिक अभावका कारण विद्यार्थीहरूको पढाई नछुटोस् भनेर आफुहरु सबै मिलेर किताब, कलम, लुगा, जुत्ताको व्यवस्थापन गर्दै आएको बताउनुभयो । २०७४को स्थानीय चुनाव पश्चात् आफू वडा अध्यक्ष भएपछि पाँच बर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता प्रतिष्ठान स्थापना गरेर अक्षयकोष मार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आएको बताउनुभयो । अहिले यस विद्यालयमा कोठाको अभाव हुँदा विद्यार्थीहरूलाई अन्तै पठाउने अवस्थाको अन्त्य गर्न प्रतिष्ठानले साढे ६ करोडको लागतमा २१ कोठा भएको विद्यालय बनाउँदै गरेको बताउनु भयो । सांसद थापाले अब यहाँका विद्यार्थीहरूले कक्षा १२ सम्मको शिक्षा यसै विद्यालयबाट प्रदान गर्ने र थप शिक्षा हासिल गर्न भक्तपुर नगर जानु पर्ने  बाध्यताको अन्त्य गरिने बताउनुभयो । यस विद्यालयको शैक्षिक सुधार गर्न आफ्नो तिन पुस्तासम्म परिवार जोडेको बताउनुभयो ।

कार्यक्रममा सूर्य विनायक नगरपालिकाका मेयर वासुदेव थापाले गणेश माध्यमिक विद्यालयमा सांसद थापाले गरेको योगदानहरू  अविस्मरणीय रहेको बताउनुभयो । मेयर थापाले नहुनेलाई हुनेहरूले सहयोग गर्नुपर्ने बताउँदै आफूले कमाएको केही रकम सबैले दान पुण्यमा लगाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा गणेश माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप तथा विद्यार्थीहरूलाई  किताब, कलम, लुगा, जुत्ता, झोला आदि प्रदान गरिएको थियो ।

कार्यक्रममा जगत भैरव प्रतिष्ठानका अध्यक्ष द्वारिका सत्याल, वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेत तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ४१ बजे