आज वर्षाको सम्भावना

पशुपति विकास कोषको नवनिर्मित भवनमा मृत भेटिए सुरक्षाकर्मी

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।

कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । 

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताउनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । 

सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन् । 
 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : ०१ बजे