विश्व वातावरण दिवस : वातावरण बचाउन हामीले गर्न सकिने प्रयास 

हामी बसोबास गर्ने स्थानको जमिन, जमिनमा भएका जैविक तथा अजैविक प्राकृतिक अवयवहरू, जल तथा जलाशयमा बसोबास गर्ने जीवजन्तुहरू तथा वनस्पतिहरू, हाम्रो आकाश र आकाशमा भएका सबै खाले जैविक तथा अजैविक जीवात्माहरू र तिनीहरूको पारस्परिक सम्बन्ध नै हाम्रो वातावरण हो । यही पारस्परिक सम्बन्धको चक्रबाट सबै प्राणी, वनस्पति र सूक्ष्म जीवहरूको अस्तित्व सम्भव भएको छ । 

प्रकृतिले विभिन्न प्रजातिहरू बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धको  जटिल वेब सृजना गरेको हुन्छ, जसलाई  पारिस्थितिकीय प्रणाली÷इकोसिस्टम भनिन्छ । सत्य कुरा के हो भने राम्रो पारिस्थिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढवा गर्न सक्दछ, जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न मदत गर्दछ र जैविक विविधता विनाश हुनबाट जोगाउँदछ । 

जैविक विविधता हाम्रो जीवन हो, वन पृथ्वीको फोक्सो हो, सिमसारहरू मिर्गौला हुन यिनीहरूको संरक्षण गर्न सकिएन भने मानवलगायत जीवित प्राणीको अस्तित्व रहन सक्दैन त्यसैले प्रकृतिको सम्मान गर्नु अति आवश्यक छ । हाम्रो वरिपरिको वातावरणीय सन्तुलन नै मानव सभ्यता सूचक हो । 

मेरो वातावरण 
तर आज म आफ्नो क्षेत्रमा जहाँ जान्छु प्लास्टिकका खोलहरू चुरोट, गुड्का, खैनी, पान पराग, विभिन्न नामका चाउचाउ, बिस्कुट, कुरकुरे, चिजबल्स, पाउँ, विभिन्न तेलजन्य बस्तु, साबुन, पाउडर साबुन नूनकाखोल, मिनरल वाटरका बोटलहरु, सीसाका टुटेका बोटलहरु, साइकलका टायरहरू, सिमेन्टका बोराहरू, कालो, सेतो, निलो, रातो प्लास्टिकका ब्यागहरूले जमिन छरपट्ट भरिएको देख्दछु ।   

यस्तै, प्लास्टिकका थुप्रा, हरियो तरकारी तथा फलफूलजन्य पदार्थ मिसिएका, भात रोटी तथा पाउरोटीका कुहिएका थुप्राहरू, बोटलहरु, जतातता फ्याँकिएको अवस्था देख्दछु । शहरतिर जान्छु मोटरको धुवाँ र धुलोले प्रदूषणयुक्त वायुमा सास फेर्न बाध्य छु । सडक जाममा ध्वनि प्रदूषणले कान कम सुन्न थालेकी छु । नदीतिर हेर्छु फोहर पानीमा प्लाष्टिकका पोका तैरिएको, मिनरल वाटरका बोटलहरु, हड्डीहरू, मरेका कुकुरहरू फालिएको, मानिसलाई जलाएका ठुटाहरू, अँगार, फाटेका कपडाका थुप्राहरू तथा सडेका फूलका मालाहरू, तथा पूजा गरिएका टपरी, बेलपत्रहरू दुबो तथा फलफूलहरू, यस्तै के हो भनी भन्न नसकिने सडेका गलेका बस्तुहरूले भरिभराउ देखिनुका साथै दुर्गन्ध आइरहेका महसुस गर्दछु ।

वन जङ्गलतिर जान्छु आगो लागिरहेको, जङ्गल फडानी भएको, खोरिया फडानी, काँचो तथा उमेर नपुगेका बोटहरू काटेको, बस्ती बसाउन रुखहरूमा गर्डलिङ्ग गरेको तथा सहरको नजिक भए फोहरका बोरा पल्टाइएको देखिरहन्छु । गाउँघर तिर जान्छु  खेतीयोग्य जमिन सबै बाँजोमा परिणत भई बनमारा र मिचाहा प्रजातिले भरिएको, घरहरू तथा गोठहरूमा धमिरा लागेको, छानाहरूमा बुकी उम्रेको छन् ।

गाउँमा बिजुली पुगेको छ, पानीका धारा घर घरमा जोडिएको छन्, डोजरे बाटाहरू खनेर धुलोले हरियो रुख खेख्न पाइँदैन । ठाउँ ठाउँमा पहिरो गएर जमिन भासिएको छ त कतै गाउँ नै खतरामा परेको देखिन्छ । गाउँमा बसेका मानिसले पनि बस्तुभाउ पालेका छैनन् कोक फ्यान्टाले पियास मेटाउने गर्दछन्, चाउचाउ, अण्डा र ब्रोइलर कुखुराको चलन बढेर होला हरियो तरकारी लगाएको कमै देख्न पाइन्छ, सायद वन जङ्गलबाट बँदेल, भालु, चित्तल तथा बाँदरको आक्रमण हुने हुँदा खेती गर्न छाडेको सुनिन्छ । केही घरहरूमा बूढाबूढीहरू आँगन कुरेर बसेको देखिन्छ, कसैमा दलित तथा गरिबहरूका महिलाहरू साना बच्चाहरूका साथमा बेसाएको चामलको भात खाँदै परदेशी श्रीमानको कमाइको पखाइमा बसेको देखिन्छ ।

गाउँमा मलामी जाने मानिसको अभाव छ, तर बजार, सहरमा भने एकै घरमा धेरै मानिसहरू बसेका छन् तर उनीहरूको बीचमा पैसाको लेनदेन बाहेक कुनै सम्बन्ध छैन । पानीको अभाव छ खाद्यान्न लगायतका सबै बस्तुहरूमा मित्रराष्ट्रको भरोसा छ चाहे त्यो जतिसुकै विषादी मिसाइएको किन नहोस् । मानिस मानिसमा मित्र भाव छैन, प्राणी तथा वनस्पति जगतसँग सामिप्यता छैन । सबैलाई धन पैसा कमाउने जोडजुलुम देख्दछु चाहे त्यो नेता, कर्मचारी तथा व्यापारी नै किन नहोस् । शक्तिमा हुनेले  प्रकृतिलाई कसरी दोहन गरी आफ्नो पोल्टामा पार्ने  भन्ने होडबाजी चलेको देखिन्छ ।  मानिसले मानिसलाई  भरोसा गर्ने वातावरण नै हराएको जस्तो लाग्दछ । तर केही शताब्दी पहिलाको हाम्रो सभ्यता यस्तो थिएन मानव जाति प्रकृति प्रेमी थियो । 

विश्व वातावरण
यता विश्वजगतलाई नियाल्छु आज विश्वमा एक हजार ३०० भन्दा धेरै परमाणुबम र विनाशकारी हतियारहरूको भण्डारण गरिएका  कुरा सुनिन्छन् । धनी र ठुला राष्ट्रहरूको घमण्ड र होडबाजीका कारण सयौँ वर्ष लगाएर मानव निर्मित भव्य र सभ्य सहरहरू पनि क्षणभरमा भग्नावशेषमा परिणत भइरहेका देख्दै छु । ठुलो परिमाणमा मानव जीवनको क्षतिका खबरहरू दैनिक सुन्नमा आउँछन् । आणविक भट्टीहरू, लामो दूरीका क्षेप्यास्त्रहरू, रासायनिक कलकारखानाहरू र खनिज तेलहरूको अत्यधिक प्रयोजनले वायुमण्डलमा कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बढ्ने क्रमलाई तीव्रता दिएको छ ।

यस्ता ग्याँसहरू तथा धुलोका कणहरूले  पृथ्वीको वायुमण्डलमा बाक्लो सतह बनाएका छन् जसले वजन तहमा प्वाल पार्ने काम गरेका छन् भने पृथ्वीको सतहले परावर्तन गर्ने इनफ्रा रेड रेडिएसनहरुलाई फिर्ता जान रोकिरहेका कारण पृथ्वीको तापक्रम दिनानुदिन बढिरहेको छ । तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असरहरू धेरै क्षेत्रहरूमा देखिन थालेका छन् । 

पछिल्लो समय वन जङ्गल तथा सिमसार क्षेत्रहरू विभिन्न मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । वातावरणीय क्षयीकरणको अर्को कारक तत्त्वका रूपमा खाद्य तथा ध्वनि प्रदूषण रहेको छ । धातुजन्य फोहोर, हानिकारक रसायनहरू तथा विषादी आदिका कारणले माटो प्रदूषित हुँदै जाँदा त्यसले खाद्य प्रदूषण बढाएको छ । विभिन्न जैविक तथा औद्योगिक–रासायनिक, धातुजन्य तथा कृषिजन्य प्रदूषणका कारण समुन्द्रमा बस्ने जलचर तथा उभयचरहरू पनि सङ्कटमा परेका छन् । 

अव्यवस्थित बसोबास, सहरी क्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण सबै किसिमका प्रदूषणहरू बढिरहेको छन् । खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउनुका साथै विभिन्न खालका रोग व्याधि निम्ताइरहेको छ । आज विश्वमा वातावरणीय विनाश तथा क्षयीकरण जनस्वास्थ्यका लागि सर्वाधिक चिन्ताको विषय बनेको छ ।  युनिसेफको एक तथ्याङ्कअनुसार, विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट वञ्चित छन्  ।

यथार्थता
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय रणनीति अनुसार सामाजिक तथा पर्यावरणीय उद्देश्य तथा आवश्यकता पूर्ति गर्न सक्ने वातावरणको क्षमतामा ह्रास आउनु नै वातावरणीय क्षयीकरण हो । यो पर्यावरणको भौतिक, जैविक तथा रासायनिक गुणवत्ता तथा उपयोगितामा आउने ह्रास हो । वन जङ्गल, हावापानी तथा माटोजस्ता पर्यावरणीय तत्त्वहरू ह्रासोन्मुख हुँदा वातावरण विनाश हुन जान्छ जसको असर प्रत्यक्ष रूपमा प्राणी जगतमा पर्न जान्छ ।  विश्व समुदायको भौतिक विकासको गति र इच्छा तत्काल रोकिने वाला छैन । आर्थिक स्रोतसाधनको असमान वितरण, धनी–गरिब बीचको गहिरिँदो खाडल, तेस्रो विश्वका मुलुकको आर्थिक तथा भौतिक विकासको तँछाडमछाड, धनी तथा शक्तिशाली मुलुकबीचमा विश्वका प्राकृतिक स्रोत  र सम्पदामाथि  कब्जा जमाउने होडबाजीका कारण आगामी दिनमा प्रकृतिमाथिको दोहन घटने सङ्केत कतै देखिँदैन । 

अहिलेको विश्व जगतले जलवायु परिवर्तनसँगै जैविक विविधता ह्रास वायु, ध्वनि र प्लास्टिक प्रदूषणको जटिलतालाई एकैसाथ सामना गरिरहेको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले तीन महाविपत् (ट्रिपल पलानेटरी क्राइसिस) भनेको छ । यी तीन महासङ्कटले विश्वको अर्थतन्त्र, मानवीय प्रगति तथा जनस्वास्थ्यलाई नकारात्मक असर मात्र होइन सम्पूर्ण मानव  प्रजातिको अस्तित्वमाथि नै समस्या खडा गरिरहेको छ ।

हाम्रो ब्रह्माण्डमा धेरै ग्रहहरू तथा कुरुक्षेत्र भएता पनि जीवनको अस्तित्व पत्ता लागेको एउटा मात्र ग्रह पृथ्वी हो, तर त्यही जीवन दिने हाम्रो ग्रह तातिँदै छ, धुवाँ, धुलो रासायनिक विषाक्त, प्लास्टिक र सिसाहरूले भरिँदै छ र आफ्नो क्षमताभन्दा तीन गुनाभन्दा बढी लोड थाम्नुपरेको छ  । तथ्याङ्कअनुसार, विश्वका प्रमुख औद्योगिक सहरमा बस्ने एक अर्बभन्दा धेरै मानिस चरम वायु प्रदूषणको मारमा छन् । त्यसरी नै पृथ्वीमा प्रत्येक एक वर्षमा ४०० मिलियन टन प्लास्टिक जम्मा हुने गरेको छ, ती मध्ये आधा जति पुनः प्रयोग गर्न नसकिने गरी बनाइएको छन् ।

जलवायु परिवर्तनका असरहरूले मुख्य गरी बन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रहरूमा प्रभाव पारेको देखिन्छ । धुव्रीय क्षेत्रका हिउँ पग्लँदा समुन्द्रको सतह बढिराखेको छ । तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू, टापु देशहरू तथा जलाशयमा बस्ने प्राणीजगत पनि यसको प्रभावबाट आक्रान्त बनेको छ । जैविक विविधतामा ह्रास आउनुका साथै प्रजातिहरू लोपोन्मुख अवस्थामा छन् । पिउने पानीको गुणस्तर कमसल छ भने अभाव बढ्दो छ । कृषिको उत्पादकत्व ह्रासोन्मुख छ जसले खाद्य सङ्कट निम्त्याइरहेको छ । जलवायु परिवर्तनका असरहरूले जुनसुकै क्षेत्रहरूमा प्रभाव पारेको भएता पनि यसबाट प्रत्यक्ष प्रभावमा पर्ने भनेको खासगरी गरिब राष्ट्र, अनि त्यसभित्रका कमजोर आर्थिक अवस्थामा रहेका विपन्न जनता, त्यसमा पनि वृद्ध, महिला, बालबालिका र अशक्त नै हुन् । 

वातावरण बचाउने प्रयासहरू
यस्तै, समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले १९७२ को जुन ५ देखि  १६ सम्म स्वीडेनको स्टोकहोल्ममा भएको मानव वातावरण सम्बन्धी विश्वको पहिलो ठुलो सम्मेलन संयुक्त राष्ट्रसघंको अगुवाइमा भएको थियो जसको उद्देश्य बिग्रँदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौतीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सवालमा केन्द्रित भएको थियो । विभिन्न वर्षहरूमा मनाउँदै आएका वातावरण दिवसहरू मा १९७४ जुन ५ को दिनलाई सबैभन्दा सम्झन लायक दिन मानिन्छ, जसको नारा “केवल एउटा पृथ्वी” भन्ने रहेको थियो । आज जुन ५,२०२३  अथार्त विश्व वातावरण दिवस यो दिवस मनाउन सुरु गरेको ५१ वर्ष पुगेको छ ।

यस अवसरमा  विश्वका लाखौँ मानिसहरूले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विविध कार्यक्रम तथा प्रदर्शन गरी मनाइँदै छ । यस वर्षको जुन ५ भव्य रूपमा मनाउन निदरल्याण्डको सहयोगमा आयोजकको जिम्मा कोटे डी आइभेरीले लिएको छ जसको नारा “प्लास्टिक प्रदूषणबाट मुक्त बनौँ” भन्ने रहेको छ । यसै सन्दर्भमा नेपालले पनि सफा हिमाल अभियान अन्तरगत सगरमाथा क्षेत्रमा प्लास्टिकजन्य फोहर सङ्कलन गरी हटाउने काम मार्च २८ बाट सुरु गरी हालसम्म ३४,१६६ किलो फोहर सङ्कलन गरिसकेको छ, भने उक्त काम जुन ५ सम्म चल्नेछ ।

वातावरण संरक्षणको विषयलाई आत्मसाथ गर्दै विश्व वातावरण दिवस मनाउँदै गर्दा स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न यो सन्दर्भलाई मानव अधिकारसँग जोड्न पनि आवश्यक छ । प्रत्येक राष्ट्रका सरकार, राजनीतिक दलहरू, नागरिक समाज तथा सङ्घ संस्थाहरूले जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा जल्दो बल्दो मुद्दाको रूपमा लिन जरुरी देखिन्छ ।

हामीले गर्न सकिने प्रयासहरू
हाम्रो देश प्राकृतिक स्रोतमा (जल, जमिन र जङ्गल), जैविक विविधता, मानव तथा सांस्कृतिक विविधतामा धनी छ । उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्न सके वहन क्षमतामा वृद्धि गरी जोखिमलाई न्यूनीकरण गर्न त्यति कठिन छैन । जैविक विविधता  हाम्रो जीवन हो, यसको संरक्षण वन तथा सिमसार क्षेत्रहरूको संरक्षण र संवर्द्धन गर्न सकेमा कार्बन शोषणका साथै बाढी, पहिरो र पानीको  समस्या कम गर्न सकिन्छ ।

बन डढेलो बन तथा आवास क्षेत्रहरूमा समेत क्षति पुर्‍याइरहेको हुँदा यसको रोकथाम गर्न समुदाय स्तरमा चेतना फैलाउनु अपरिहार्य देखिन्छ । विकासका पूर्वाधारका रूपमा रहेका भौतिक संरचनाहरू पर्यावरण अनुकूलित हुने किसिमले बनाउने साथै बनाएका स्थानहरूमा माटोलाई रोक्न भूसंरक्षणका उपायहरू (बाँस, निगालो, अम्रिसो, उत्तिस, बाबियो तथा उन्नत घाँसहरू रोप्ने) अपनाई दिगो बनाउने, खाली जग्गा वा स्थानहरूमा वृक्षारोपण गरी हराभरा बनाउने, पानीका स्रोत संरक्षण गर्न मुहान वरपरका क्षेत्रका रुखहरू नकाट्ने इनटेक बनाउने, पहिरो नियन्त्रणका उपायहरू (ब्रेस्टवाल, रिटेनिङवाल, ढलनिकासका कामहरू) समयमा नै सरकार तथा समुदाय स्तरबाट गरिनुपर्दछ ।  

धेरै भिरालो स्थानमा भएका बस्तीहरू, नदी किनाराका बस्तीहरू आवास बनाउन योग्य स्थानहरूमा सारी भिरालो स्थानमा फलफूल लगाउने, नदी किनारामा बाँस, निगालो, अम्रिसो रोपण गरी तटबन्ध बनाएर, बाध तथा नहर व्यवस्थापन गरेमा जोखिमलाई न्यून गर्न सकिन्छ । प्लास्टिकजन्य फोहरलाई  पुनः चक्रीय विधि अपनाई सदुपयोग गर्न तथा पच्ने वस्तुहरूबाट प्राङ्गारिक मल बनाउन सकिन्छ ।  यस विषयमा सरकार र समुदायको मात्र आशा गरेर हुँदैन, प्रत्येक घरधुरी र व्यक्ति स्वयं पनि सचेत बनी आफ्नो दैनिक व्यवहारमा परिवर्तन ल्याउनु जरुरी हुन आउँछ । घरको वरिपरि होमगार्डेन बनाई  पोखरी निर्माण गर्ने, प्रयोग भएको खेर जाने पानीलाई जम्मा गरी तरकारी खेती गर्ने, विभिन्न जातका फलफूलका बोट लगाउने, बगैँचाको वरपर केरा लगाएमा बनबाट आएको डढेलोबाट घर बचाउन सकिन्छ । डढेलो र खडेरीबाट बच्न आकाशे पानी छानाबाट सङ्कलन गर्न सकिन्छ । 

सौर्य ऊर्जा, गोबर ग्यासको प्रयोग बढाएर दाउराको प्रयोग घटाएमा महिला दिदीबहिनीहरूको स्वास्थ्यमा पनि सुधार गर्न सकिन्छ । सुख्खा मौसममा हुने खेती (अदुवा, कोदो, जौ, फापर आदि) लगाई खाद्यमा आत्मनिर्भर हुन खाने तरिकामा पनि बदलाव ल्याउनुपर्दछ । यसो गर्दा मात्रै खाद्य असुरक्षाबाट सजिलै बच्न सकिन्छ । बस्तुभाउ पालन गरी जैविक मलको प्रयोगबाट मौसम अनुसारको तरकारी उत्पादन गर्न सके रासायनिक मल र विषादीबाट उत्पन्न हुने स्वास्थ्य समस्याबाट पनि बच्न सकिन्छ । शुद्ध खानपान, सरसफाइ र दैनिक व्यायाम गर्न सके नयाँ रोगहरूबाट पनि बच्न सकिन्छ । जलवायु परिवर्तनका केही सकारात्मक पक्षहरूलाई प्रयोगमा ल्याउन सके उत्पादनमा वृद्धि हुने सम्भावना पनि छन् ।

त्यसैले आफ्नो सुरक्षाको लागि हामी आफै सक्रिय हुन ढिला गर्ने हो भने भयावह पीडा सहन हामी नै बाध्य हुनेछौँ ।  विश्वको लागि सोचौँ, जहाँ छौँ त्यहीँबाट  वातावरण संरक्षणका काम सुरु गरौँ यसैमा हाम्रो व्यक्तिगत जीवन सफल हुनेछ र यस धर्तीमा रहेका सबै प्राणीको पनि भलो हुनेछ, अनि मात्र विश्व वातावरण दिवस मनाएको सार्थक पनि हुनेछ ।                                                                                                                                                             

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : ०८ बजे