प्रधानमन्त्रीले सभामुखलाई भन्नुभयो, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु गर्नुभएको छ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गर्नुभएको हो । उहाँले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गर्नुभयो ।

आइतबारको प्रतिनिधिसभा बैठक अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुखले आइतबार साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभएको थियो ।  ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भन्नुभएको थियो,  ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन ।’ 

सभामुखसँगको संवादमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसद्मा आफूले प्रष्टिकरण दिने जनाउनुभयो ।  ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भन्नुभएको छ । 

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समय सीमा बुझिदिन आग्रह गर्नुभएको छ । 

भारत भ्रमण जानुअघि नागरिकता  विधेयक प्रमाणित गरेको तथा  सीमा विवाद मिलाउनका लागि बङ्गलादेश जाने सहज बाटो दिए भारतसँग कालापानी साटन मन्जुर रहेको जनाएपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै आइतबारबाट सदन अवरुद्ध गरेका थिए । 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ४० बजे