साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना गर्‍यो । ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो । 

कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लबका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो । भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलामा बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गर्नुभएको छ । 

उक्त अवसरमा नगर प्रमुख कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकको नेतृत्व गर्न सक्ने क्षमता बनाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्नेसमेत बताउनुभयो । 

नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाउनुभयो । उहाँले समुदाय स्तरमा पनि बाल समूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

नगर प्रवक्तासमेत रहनुभएका ६ नं का वडाध्यक्ष टीकाबहादुर केसीले बजेट विनियोजनको लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लब सञ्जालका पूर्व अध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाको लागि नमोबुद्धका जनप्रतिनिधिले देखाएको तदारुकता प्रशंसनीय भएको उल्लेख गर्नुभयो । 

बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधिलाई तीव्रता दिएको नगरले जनाएको छ । यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । 

नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ । 

यसैगरी बालमैत्री नगरका लागि सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडा सचिवलाई अभिमुखीकरण गरिसकिएको छ । 

बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासम्बन्धी ५१  सूचक पूरा गरेको हुनुपर्ने प्रावधान छ । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : १३ बजे