कालापानीको भूमि साटफेर गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको एमालेले आज जवाफ माग्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारतको चार दिने औपचारिक भ्रमण पुरा गरी फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।

बङ्गलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिनुभयो । 

''प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत बङ्गलादेशको सीमासम्म पहुँच पुर्‍याउनका लागि नेपालले कालापानीको भू–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आजको संसद् बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौँ'', सचेतक गिरीले भन्नुभयो। उहाँका अनुसार प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।

प्रधानमन्त्री दाहालले भारतको आफ्नो चार दिने औपचारिक भ्रमणको क्रममा बङ्गलादेशसँग सीमा पहुँच पुर्‍याउनका लागि कालापानीको भू-भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो । 

एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहालले छलफल नगरेको विषयलाई पनि गम्भिरतापुर्वक लिएको छ । ''सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढङ्गले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरू पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्र हितको पक्षमा हुन सकेन'', एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भन्नुभयो । उहाँका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रूपमा एमालेले लिएको छ ।

आजबाट सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०८१ को बजेटमाथि छलफल सुरु हुनुअघि एमालेले प्रधानमन्त्रीसँग भूमि साटफेरको विषयमा जवाफ माग्नेछ । 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : ०८ बजे