साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

कार्यवाहक प्रमुख डंगोलले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने बताउनु भयो ।

‘धेरैजना प्रतिनिधिहरु प्रेसरको पेसेन्ट हुनुहुन्छ। धेरैजना प्रतिनिधिज्युहरु औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ। त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ। तब समाजमा अझ धेरै काम गर्न सकिन्छ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘जनप्रतिनिधिको भुमिका र त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रुपमा काम गर्न सकिन्छ। किनभने हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन। त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो ।’

कार्यवाहक प्रमुख डंगोलले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने बताउनुभयो। उहाँले मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्ने बताउनुभयो । आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ। आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’

कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनु भयो।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  २ : २२ बजे