साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नातिनीको हत्या आरोप झेलिरहेका मोर्गनमाथि ८ अभिनेत्रीले लगाए यौन दुर्व्यवहारकाे आरोप

काठमाडौं ।  हलिउडका ओस्कार विजेता चर्चित अभिनेता मोर्गन फ्रिम्यान ८६ वर्षका भए। ५० वर्षसम्म हलिउडमा लुसी, द शशाङ्क रिडेम्पसन जस्ता उत्कृष्ट फिल्म दिने मोर्गनको अभिनय करिअर अझै जारी छ। 

तर, उनी फिल्मभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन्। मोर्गनमाथि शारीरिक दुर्व्यवहार र नातिनीको हत्या गरेको आरोप लागेको छ। 

हलिउड अभिनेत्रीहरूले पनि उनलाई अनुचित रूपमा छोएको आरोप लगाएका छन्।

व्यक्तिगत जीवनका यावत उतारचढाव हुँदा हुँदै पनि मोर्गन हलिउडका सबैभन्दा प्रभावशाली अभिनेतामध्ये एक हुन्। ३ वटा निजी विमानका मालिक मोर्गनको कुल सम्पत्ति २०६४ करोड रुपैयाँ छ। 

मोर्गनको जन्म १ जुन १९३७ मा टेनेसी, अमेरिकामा भएको थियो। उनका बुवा मोर्गन पोर्टरफिल्ड नाईको काम गर्थे।  

आर्थिक अभावका कारण मोर्गनका परिवारले सानैमा उनलाई हजुरबुवाको जिम्मा लगाएका थिए। उनले सानैमा धेरै शहर र स्कुल परिवर्तन गरे। 

सानैबाट अभिनयमा पोख्त मोर्गनले १२ वर्षमा राज्य नाटक प्रतियोगिता जिते। 

उनले विद्यालयबाट अभिनयमा छात्रवृत्ति पाए, तर उनले त्यसलाई अस्वीकार गर्दै संयुक्त राज्य वायु सेनामा भर्ना भए।

मोर्गनले वायुसेनामा रिपेयरम्यानको रूपमा काम गरे। ६ वर्षपछि प्रथम श्रेणीको एयरम्यानको दर्जा पाए। 

लामो समय उनी यो पेशामा सन्तुष्ट रहन सकेनन्। जागिर छोडेर लस एन्जलसमा अभिनय कक्षा लिन थाले। 

त्यसपछि फेरि नाटकमा देखिन थाले। नाटकमा काम गर्दा गर्दै सन् १९८० मा उनले ‘ब्रुबेकर’बाट हलिउडमा डेब्यु गरे। 

त्यसपछि थुप्रै हिट फिल्ममा काम गरे। ५० वर्षे फिल्मी करिअरमा ‘मिलियन डलर, बेब, ड्राइभिङ मिस डेजी, लीन अन मी, रोबिनहुड प्रिन्स अफ थिव्स, अनफर्गिभन लगायतका उत्कृष्ट फिल्ममा अभिनय गरे। 

मोर्गनले १९८७ मा फिल्म ‘स्ट्रीट स्मार्ट’बाट सर्वश्रेष्ठ सहायक अभिनेताको लागि पहिलो ओस्कर नामांकन प्राप्त गरे। 

उनी ड्राइभिङ मिस डेजी र द शशाङ्क रिडेम्पशनको लागि उत्कृष्ट अभिनेताको लागि ओस्करको लागि थप मनोनित भए। सन् २००४ मा फिल्म ‘मिलियन डलर बेबी’बाट सहायक अभिनेताका लागि पहिलो ओस्कर प्राप्त गरे। 

मोर्गनले पहिलो विवाह जेनेट एडेयर ब्राडशसँग १९६७ मा गरेका थिए। उनको पहिलो विवाह १२ वर्षपछि टुट्यो। १९८४ मा मिर्ना कुलीसँग दोस्रो विवाह गरे। मिर्ना र मोर्गनका चार सन्तान भए।

सन् २०१५ मा मोर्गनकी सौतेनी नातिनी इडना हाइन्सको घाँटी काटेर हत्या गरिएको अवस्थामा फेला परिन। यो हत्याको पहिलो आरोप उनका प्रेमी लामर डेभेनपोर्टलाई लगाइएको थियो। 

लामरकी आमाले अदालतमा भनिन्, ‘इडेनाले आफ्नो प्रेमी लामारलाई मर्नुअघि फोन गरेकी थिइन् र उनको सौतेनी हजुरबुवा मोर्गनले यौन दुव्र्यवहार गरेको बताएकी थिइन्।’ 

यो आरोपपछि मोर्गन विवादमा घेरिए। तर अनुसन्धानले लामारले इडेनाको हत्या गरेको तथ्य पत्ता लगायो। 

सीआईएले सन् २०१८ मा एक अनुसन्धान गर्यो। उक्त अनुसन्धानमा १८ महिलासँग मोर्गनको व्यवहारमाथि छलफल भएको थियो। 

तीमध्ये ८ महिलाले मोर्गनले छायांकन सेटमा अनुचित रुपमा आफूलाई छुने गरेको तथा महिलामाथि अश्लील टिप्पणी गर्ने गरेको बताएका थिए।

यसपछि विवाद बढ्यो। त्यसबेला मोर्गनले लेखेका थिए, ‘मसँग काम गर्ने जो कोहीलाई थाहा छ कि मैले जानाजानी कहिल्यै कसैलाई चोट पुर्‍याउने वा अपमान गर्ने काम गरेको छैन।’ 

मोर्गनका वकिलले सीएनएनलाई उक्त कथा हटाउन र माफी माग्न आग्रह गरेका थिए। यद्यपि यो विषय समयसँगै मथ्थर हुँदै गयो। मोर्गनमाथि कुनैपनि किसिमको कारबाही भएन।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : ४२ बजे