राजमार्गमा दृष्य एक, पीडा अनेक

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले आज बिहान नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो ।  मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो। 

अघिल्लो संसद्का दुवै सदनले पारित गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ दुई पटक पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले देशको हित विपरीतका कतिपय प्रावधान रहेको र महिला विरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसद्मा फिर्ता पठाउनुभएपछि पुनः संसद्बाट जस्ताको तस्तै पारित भएको थियो । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : ४३ बजे