घोराही सिमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौँ । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । 

यस कम्पनीले १९ वैशाखदेखि प्रिमियममा आइपिओ निष्कासन गरेको हो । यस सिमेन्टले ३ लाख ९७ हजार १९० कित्ता आइपिओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको छ ।

घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपिओ जारी गरेको हो । 

उक्त उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, दाङ जिल्ला, बंगलाचली गाउँपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ३ र ४ का बासिन्दाहरूको लागि छुट्याएको छ । 

स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्छ ।

स्थानीय बासिन्दाले हिमालयन बैङ्क, नबिल बैङ्क, सिटिजन्स बैङ्क इन्टरनेसनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क, नेपाल एसबिआई बैङ्क, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैङ्क, कुमारी बैङ्क, एनएबि बैङ्क, सानिमा बैङ्क र ज्योति विकास बैङ्कका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १० : ३३ बजे