राजमार्गमा दृष्य एक, पीडा अनेक

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । 

समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । 

समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । 

यही जेठ २६ गते कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ । 

सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

समितिको मङ्गलवार बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश पद करिब १५ महिनादेखि रिक्त छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ३२ बजे