मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङ मार्गको अनुगमन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैङ्कका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङ मार्गको अनुगमन गरेको छ ।

उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ । 

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको थियो । सुरुङ मार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको सुरुङ मार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो । 

सुरुङ मार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङ मार्गको निर्माण अवधि एक वर्ष थपिएको हो । 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १० : ५५ बजे