आज वर्षाको सम्भावना

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, १० घाइते

दाङ ।  रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।  ​​​​​​​

आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो। 

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ५ जनालाई उपचारका लागि लान सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय (बाँफिकोट, रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिइन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : ४५ बजे