आज वर्षाको सम्भावना

कृत्रिम खुट्टाले सगरमाथा चढेका हरिलाई सभामुख-उपसभामुखको बधाई

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका हरि बुढा मगरलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ।

सभामुखको सरकारी निवास बालुवाटारमा बुढामगरलाई सम्मान गरिएको हो।

बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै सभामुख घिमिरेले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्‍याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले सचेतक महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : २८ बजे