आज वर्षाको सम्भावना

अध्यक्ष तिमिल्सिनाद्वारा “एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति” प्रदान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाकिस्तानी दूतावास छात्रवृत्ति पुरस्कार प्रदान गर्नुभएको छ ।

पाकिस्तानी राजदूतावासले बुधबार काठमाडौंको मेरियट होटलमा ११औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गरेर अध्यक्ष तिमिल्सिना मार्फत छात्रवृत्ति पुरस्कार प्रदान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि एवं  राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले १९८ नेपाली विद्यार्थीलाई “एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति” प्रदान गर्नुभएको थियो । छात्रवृत्तिहरू नेपालभरका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा छानिएका सरकारी विद्यालयका योग्य/उत्तम विद्यार्थीहरूलाई प्रदान गरिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पाकिस्तानको निरन्तर सहयोग र दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जनता–जनताको सम्पर्कलाई अगाडि बढाएकोमा प्रशंसा गर्नुभयो । उहाँले यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनुभयो । उहाँले दूतावासको प्रयासको प्रशंसा गर्दै दुई देशका युवाहरूलाई नजिक ल्याउन निकै लामो यात्रा गरेको बताउनुभयो ।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो संकल्प र इच्छा व्यक्त रहेको बताउनुभयो । उहाँले नेपाली युवाको अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिमा प्रोत्साहन गर्नु नै हाम्रो सहकार्यको मुख्य आधार रहेको बताउनुभयो ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको र नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गएको छ।

यस वर्ष पाकिस्तानी राजदूतावासले ४३ विद्यालयका १९८ विद्यार्थी मध्ये उत्कृष्ट विद्यार्थीलाई ल्यापटपले समेत पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ११ : १५ बजे