साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई जरिवाना 

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । 

महानगरबाट बुधवार खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो । 

नगर प्रहरीले बुधवार नै कवाडी सामान सङ्कलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने दुई जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको  छ । यस्तै नगर प्रहरीले प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका एक जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरूलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन महानगरले जनाएको छ । 

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा बाधा गर्नेहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ । यसका लागि क्षेत्रबाट खटिएका प्रहरीले अनधिकृत क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिएर प्रहरी बलमा पठाउने गरेका छन् । 

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ५४ बजे